बेनी–जोमसोम सडक खुल्यो

भदौ १०, २०७८ मा प्रकाशित | 367 views

म्याग्दी । वर्षाका कारण पहिरो खसेर गएकाे सोमवारदेखि बन्द भएको बेनी–जोमसोम सडक खण्ड आज बुधवारदेखि खुलेको छ । सडकभन्दा माथिबाट ढुङ्गा, माटो, गेगर र लेदोसहितको पहिरो खसेर बन्द भएको सडक पहिरोको अवरोध हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

उत्तरी म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न चार ठाउँमा पहिरो खसेर तथा खोलामा आएको बाढीले सडक बन्द भएको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण गाउँपालिका ३ दानाकाे जलथले, रुप्से खोला र काभ्रे भिर क्षेत्रको सडकमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक पनि  सञ्चालनमा आएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

बेनी–बागलुङ सडक खण्डअन्तर्गत बेनी नगरपालिकाको खबराको भसभसे र रत्नेचौरको रानीवन क्षेत्रको पहिरो पनि हटाएर सडक खुलाइएको छ ।

वर्षाले पहिरो खसेर सडकमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web