रोजगारीका लागि भारत जानेको लर्को

भदौ १०, २०७८ मा प्रकाशित | 592 views

बर्दिया । खेतीपाती सकेर हरेक वर्ष झैँ यस वर्ष पनि नेपालबाट रोजगारीका लागि भारत जाने क्रम बढेको छ । गएकाे वर्ष कोरोना महामारीले गर्दा रोजगारी गर्न भारत गएकाहरू नेपाल फर्कने क्रम बढेको थियो भने भारत जाने क्रम घटेको थियो ।

तर यस वर्ष भने साउन तेस्रो हप्तादेखि हिजाेआज हरेक दिन नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाँकेको नेपालगञ्ज रुपेडिया, कैलालीको गौरीफन्टा र कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनवासा नाका हुँदै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रबाट भारत जाने नेपालीको लर्को देखिन्छ ।

सीमा क्षेत्रमा खटिएका प्रहरीको तथ्याङ्कअनुसार लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई जिल्लाका मानिसहरू कामका लागि भारत जाने क्रम हिजाेआज दिनहुँ बढिरहेकाे छ । असार र साउन महिनामा किसानहरूलाई विशेष गरी खेतीपातीको चटारोले भ्याइनभ्याइ हुने गर्छ । खेतीपाती सकेर गाउँमा केही काम नहुने भएकाले आफ्नो घरायसी खर्चको जोहो गर्न यस क्षेत्रका नेपालीहरू हरेक वर्ष झैँ यस वर्ष पनि भारततर्फ जान थालेका हुन् ।

किसानको मुख्य अन्नबाली मकै छर्ने र धान रोपाइँ गरेर सकिएकाले दशैँ, तिहार, माघी जस्ता चाडपर्वको खर्च जुटाउन भारतको सिमला जान लागेको कैलाली लम्कीका कृष्ण थारुले बताउनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसहरू साउन महिनाको तेस्रो हप्तादेखि नेपालगञ्जको रुपेडिया, कैलालीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी बनवासा नाका हुँदै भारततर्फ मजदुरी गर्न जाने नेपालीहरू दिनहुँ बढ्दै गएका छन् ।

नेपाल–भारत सीमामा रहेकाे कैलालीको गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरीका अनुसार दैनिक दुईदेखि चार हजार जनासम्म नेपाली नागरिक भारततर्फ मजदुरी गर्न जाने गरेका छन् । त्यस्तै नेपालगञ्जको जमुनाह प्रहरी चौकीका अनुसार रुपेडिया नाका हुँदै दैनिक झन्डै दुईदेखि तीन हजार नेपाली भारततर्फ मजदुरीका लागि जाने गरेका छन् । केही त बालबच्चा लिएर सपरिवार भारततर्फ जाने गरेको पनि पाइन्छ ।

कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनवासा नाका भएर भारततर्फ जाने नेपालीको सङ्ख्या भने यस वर्ष कम रहेको प्रहरीले जनाएको छ । गड्डाचौकी बनवासा सीमा क्षेत्रमा रहेका भारतीय प्रहरीले पीसीआर परीक्षण रिपोर्ट माग्ने, खोप लगाएको कार्ड माग्ने लगायतका अनेकन दुःख दिन थालेका कारण पनि त्यो नाकाबाट नगइ नेपाली नागरिकहरू गौरीफन्टा नाकाबाट जान थालेका हुन् ।

बाँकेको नेपालगञ्ज रुपेडिया नाका भएर भारत मजदुरी गर्न जानेहरूमा लुम्बिनी र कर्णाली प्रदेशका दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, सल्यान, रुकुम, रोल्पा, कालीकोट, जुम्ला जिल्लाबाट बढी मात्रामा रहेको जमुनाह प्रहरीले जनाएको छ । कैलालीको धनगढी गौरीफन्टा नाका भएर बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, बैतडी, डडेलधुरा लगायतका जिल्लाबाट भारत जाने गरेका प्रहरीले जनाएको छ ।

नेपाली नागरिकहरू मजदुरीका लागि भारतको गढवाल, सिमला, चण्डीगढ, दिल्ली, बेङ्गलोर, मुम्बई लगायतका ठाउँमा जाने गरेका छन् । कोरोना महामारीको त्रास हुँदाहुँदै पनि बालबालिकाको पढाइको चिन्तासँगै, चाडपर्वमा खर्चको जोहो गर्नका लागि भारत जानु परेको दिलिप विष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web