खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा कुकुरको बिगबिगी बढेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा पर्ने ऐसेलुखर्क बजार तथा प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा कुकुरका कारण बिरामी, विद्यार्थी, वृद्धवृद्धा र रातको समयमा हिँड्ने बिरामी, बिरामीका कुरुवा र स्वास्थ्यकर्मी समेत त्रसित बनेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा कुकुरको आक्रमणका कारण कतिपय स्थानीयवासी घाइते भएकाे गाउँपालिकाले जनाएको छ ।
रातकाे समयमा बजार क्षेत्रमा जम्मा हुने कुकुरले झम्टने गरेको छ । जथाभाबी छाडिएका कुकुरका कारण बजार तथा प्राथमिक स्वास्थ्य केन्द्रमा आउजाउ गर्न कठिन भएपछि गाउँपालिकाले बुधवार सूचना जारी गर्दै जथाभाबी कुकुर नछाड्न आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जारी गरेको सूचनामा कुकुर धनीलाई आ–आफ्नो कुकुर नियन्त्रणमा लिएर बाँधेर घरमा राख्न अनुरोध गरिएको छ । गाउँपालिकाको सूचना उल्लंघन गर्ने कुकुर धनीलाई कुकुरका कारण भएको क्षति बेहोर्न लगाउने भनिएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा समेत कुकुरको बिगबिगी छ । रातकाे समयमा दिक्तेल बजारमा जम्मा भएका कुकुरले आक्रमण गर्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता समेत छ ।
19.8¡ÆC