झापा । झापाको कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुलाई आफ्नै घरभित्र सोमबार बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।
मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केहीदिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन्। स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए। आत्महत्याको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
28.09¡ÆC