घर र सडकमै थुप्रियो फोहोर

भदौ ३, २०७८ मा प्रकाशित | 475 views

काठमाडौँ । बितेको १५ दिनदेखि काठमाडौं उपत्यका र आसपासका नगरपालिकाको फोहोर उठेको छैन । अझै कति दिन फोहोर उठ्दैन, यसै भन्न नसकिने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन् ।

उनका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकोले नुवाकोटको ओखरपौवा (सिसडोल)स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर शहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ ।

यसले गर्दा घरभित्रै फोहोर राखेर दुर्गन्ध सहनुपर्ने बाध्यता सिर्जना भएको छ । घरधनीलाई भन्दा बढी डेरामा बसेकाहरुलाई समस्या परिरहेको छ । दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले रातिराति चोक, सडक र नदी किनारमा फोहोर फालिदिंदा शहरमा सरुवा रोगको महामारी फैलिने जोखिम समेत बढेको छ ।

काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको थियो । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

तर, त्यो क्रम रोकिंदा करीब १५ हजार ८ टन फोहोर सडक किनारा र जनताको घरभित्र थुप्रिएको काठमाडौं महानगरपालिकाको वातावरण विभागको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web