दाङ । वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जना विरुद्ध मुद्दा चलाएको छ ।
लकडाउनको मौका छोपेर बबई गाउँपालिकाका-५ बबरपुरमा रहेकाे कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती र घर समेत बनाएको आरोपमा २२ जना विरुद्ध मुद्दा चलाइ कारबाही अघि बढाएको पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिनुभयो । बरालका अनुसार वन अतिक्रमण मुद्दा चलाइएका मध्ये २ जनालाई पक्राउ गरिएको छ । अन्य २० जना फरार रहेको र उनीहरुको खाेजी भइरहेको छ ।
बस्ती नजिकैका बासिन्दा तथा टाढाटाढाबाट समेत गएर वन क्षेत्र कब्जा गर्ने, खेतीपाती गर्ने र घरटहरा समेत बनाइ अरुलाई बेचबिखन गर्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । वन अतिक्रमण हटाउनका लागि आफूहरुले पटकपटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि मुद्दा चलाइएकाे वन अधिकृत बरालले बताउनुभयाे ।
वन अतिक्रमण मुद्धामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न रहेका छन् । सामुदायिक वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले बताउनुभयो ।
वन ऐन २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई ५ वर्ष कैद वा एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । वन क्षेत्रको अतिक्रमणमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता व्यक्तिहरु सामुदायिक वन समितिमा बस्न नपाउने व्यवस्था पनि वन ऐनमा छ ।
27.46¡ÆC