काठमाडौँ । भूकम्पपछि बन्द चीनसँगको तातोपानी नाका अझै सहज बनेको छैन । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा मजदुर बिचल्लीमा परेका छन् ।
७ वर्षदेखि अस्थिर बनेको नाकालाई सहज बनाउनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग समेत राखेका छन् ।
नाका सञ्चालन नहुँदा समस्या परेको व्यवसायीको गुनासो छ । सिन्धुपाल्चोक विपद् सङ्कटग्रस्त जिल्ला हो । २०७१ सालको जुरे पहिरो, २०७२ को भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा गएको असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक विपद्ग्रस्त बनेको छ ।
कोदारी, तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, मेलम्ची, हेलम्बु लगायतका क्षेत्र अस्तव्यस्त छन् । अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ ।
29.14¡ÆC