मौद्रिक नीतिले साना किसानलाई नसमेटेकोमा पूर्व गभर्नरको असन्तुष्टि

साउन ३०, २०७८ मा प्रकाशित | 394 views

काठमाडौँ । ​पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले नयाँ जारी भएको मौद्रिक नीतिमा साना किसानलाई समेट्न नसकिएकाे भन्दै असन्तुष्टि जनाउनुभएकाे छ ।

पूर्व गभर्नर नेपालले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आए पनि साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो । शनिबार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व गभर्नर नेपालले भारत सरकारले किसानहरुलाई राहत स्वरुप नगद वितरण गरेको दृष्टान्त पेश गर्दै नेपालमा किन त्यसो हुन नसकेको भनि प्रश्न गर्नुभयो ।

‘भारत सरकारले भर्खरै ५ सय अर्ब बजेट साना किसानको लागि राहत वितरण गरेको छ । कोभिडको यस्तो संकटमा विश्वका सबै देशका कमजोर वर्गको राहतको लागि नगद नै वितरण हुने गरेका छन् । तर नेपालमा भने त्यसो हुन किन सकेन ?’ उहाँले भन्नु भयो, ‘मौद्रिक नीतिले प्रभावितहरुलाई राहत दिने कुरा गरे पनि निम्न वर्गलाई ध्यान दिने गरी कार्यक्रम ल्याउन सकेको देखिएन ।’

यस्तै अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले कोराेना संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले गएकाे वर्ष पनि कोराेना राहत प्याकेजको व्यवस्था गरे पनि नियमावली समेत बन्न नसकेका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने चुनौती रहेको स्पष्ट पार्नु भयो ।

‘घोषणा हुने तर कार्यान्वयन नहुने वा भए पनि ढिलासुस्ती हुने कुराले समस्यामा पारेको छ’ उहाँले भन्नु भयो, ‘त्यसैले त्यसको कार्यान्वयनमा जाँगर देखाउनु पर्‍यो । कोराेना प्रभावितहरुका लागि व्यवस्था गरिएका राहत प्याकेज कार्यान्वयनमा अर्थमन्त्री जनार्दन शर्मा सफल हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web