काठमाडौँ । अफगानिस्तानको घरेलु द्वन्द्वले त्यहाँ कार्यरत नेपाली जोखिममा परेका छन् । छिमेकी भारतसहित विश्वका सबैजसो मुलुकले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म त्यस्तो पहल गरेको छैन । अफगानिस्तान नेपालको वैधानिक रोजगार गन्तव्य हो ।
अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) सेनाले अफगानिस्तान छाडेपछि विद्रोही तालिवानले सत्ताकब्जा गर्न सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण तीव्र बनाएको छ । अफगानिस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानी तालिवानले पछिल्लो एक सातामै कब्जा गरिसकेको छ भने यो समूह निरन्तर राजधानी काबुलतर्फ अघि बढिरहेको छ । भिडन्तले अफगानिस्तानमा मानवीय त्रासदी छाएकाले नेपाली पनि संकटमा परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार अफगानिस्तानमा १४ हजार ५ सय ६५ नेपाली कार्यरत छन् । ‘कुन कम्पनीमा कति छन् भन्ने तथ्यांक लिइसकेका छौं । उद्धार कसरी गर्ने भन्ने छलफल भइरहेको छ,’ उनले भने । उनका अनुसार धेरैजसो नेपाली सुरक्षागार्डका रूपमा कार्यरत रहेको र उनीहरू सुरक्षित रूपमा ‘ग्रिन जोन’ मा छन् । श्रम स्वीकृतिबिना अफगानिस्तानमा पुगेका नेपालीको संख्या नेपाल सरकारलाई प्रस्ट जानकारी छैन । नयाँदिल्लीस्थित नेपाली दूतावासले शुक्रबार अफगानिस्तानमा कामदार पठाउने कम्पनीहरूसँग त्यहाँ कति नेपाली छन् भन्ने विषयमा ‘भर्चुअल’ छलफल गरेको थियो ।
20.04¡ÆC