लुम्बिनीको मुख्यमन्त्रीमा केसीको मात्रै दाबी

साउन २८, २०७८ मा प्रकाशित | 536 views

रूपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि तोकिएको ३ बजेसम्मको समयसीमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट कुलप्रसाद केसीको मात्र दाबी परेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै मुख्यमन्त्रीमा केसीलाई नियुक्ति गर्दै शपथ गराउने तयारी गरेका छन् । आजै ६ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ ।

तोकिएको समयसीमाभित्र अन्य दलबाट दाबी नपरेपछि गठबन्धनबाट केसी मुख्यमन्त्री बन्न लागेका हुन् । सरकारमा पठाउने मन्त्री र मन्त्रालयको टुंगो लगाउन बिहानैदेखि दलहरु बैठकमा जुटे पनि मन्त्रालयको टुंगो लगाउन सकेका छैनन् । जसपाका दुई मन्त्रीसहित मन्त्रालयको टुंगो लागेको छ । जसपाले पाउने अर्को एक मन्त्रालयको अझै टुंगो लागेको छैन । अन्य मन्त्रालय बाँडफाँडका लागि छलफल जारी छ ।

स्रोतका अनुसार कांग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित डिल्ली चौधरीलाई पठाउने भएको छ । माओवादीबाट प्यूठानको क्षेत्र नं. १ (ख)बाट निर्वाचित कृष्णध्वज खड्कालाई पठाउने निर्णय गरेको छ । ३ प्रदेशसभा सदस्य रहेको जसपाबाट संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री र सुमन शर्मा रायमाझी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बन्नेछन् । जसपाकै पुर्मती ढेंगाको मन्त्रालय टुंगो लाग्न बाँकी छ । आज मन्त्रालय टुंगो नलागे ढेंगा बिनाविभागीय मन्त्री बन्ने र पछि अन्य मन्त्रीसँगै मन्त्रालयको टुंगो लगाउने कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web