परीक्षा दिने वातावरण बनाउन सांसदको माग

साउन २८, २०७८ मा प्रकाशित | 585 views

काठमाडौँ । सांसदहरूले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आज बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले कक्षा १२ को परीक्षा पूर्वतयारीविना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरे । साथै उनीहरूले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकारसमक्ष माग गर्नुभयो ।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारीविना कक्षा १२ को परीक्षण स्थगित गरी झन्डै चार लाख परीक्षार्थीको भविष्य अन्योलमा परेकाेमा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्ने गरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने वातावरण बनाउन माग गर्नुभयो ।

सांसद कोमल वलीले शिक्षा मन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकारसमक्ष माग गर्नुभयो । कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अन्योलता छाएको छ । ‘विद्यार्थीले अनलाइन माध्यमबाट अध्ययन गरे पनि परीक्षा दिन पाएका छैनन्, यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web