मध्यपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

साउन १९, २०७८ मा प्रकाशित | 351 views

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित गरिएको छ । साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको थियो ।

परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार अर्को सूचना जारी गरी पुनः एक साताका लागि परीक्षा स्थगित गरिएको जनाएको छ ।

संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलनमा रहेको र वार्ता टुंगोमा पुग्न नसक्दा परीक्षा स्थगित गरिएको हो । ‘परीक्षा व्यवस्थापन कार्यालयको ११ गतेको सूचना अनुसार एक हप्ता पछाडि सारिएको परीक्षा निर्धारित समयमा सम्पन्न गर्न तत्पर रहँदारहँदै पनि असमान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रम पुनः एक हप्ताका लागि सारिएको छ,’ परीक्षा व्यवस्थापन सह–प्रमुख नरेन्द्रप्रकाश साउदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयले १२ गतेदेखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए ।

विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई नै कारण देखाउँदै परीक्षा पुनः स्थगित गरिएको जनाएको छ । विश्वविद्यालयका आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने अनलाइनमाध्यमबाट पढाइ भएकाले अनलाइन माध्यमबाटै परीक्षा लिनुपर्ने लगायतका विभिन्न १९ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web