दोस्रो अध्यक्षको प्रस्तावमा महासचिव पोखरेलको असहमति !

साउन १५, २०७८ मा प्रकाशित | 471 views

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्ने बताएका छन् । साथै माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने उनको धारणा छ ।

शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको बताए । उनले अघि भने, ‘अड्किएको कहाँ हो मैले पनि बुझेको छैन ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलमा रहेका काम गरेका नेताहरुलाई शुक्रबारसम्म कोशिश गरौं भनेको भन्दै उनले अघि भने, ‘सम्भवत आज बेलुकासम्म केही कुरा होलान् । त्यसपछि धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने नै छ ।’

दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा महासचिव पोखरेलले पार्टीको विधान अनुसार हुनुपर्ने बताए । ‘पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकतम लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकूल हुनुपर्छ’ उनले भनेका छन् ।

दैनिक जसो अनेक प्रस्ताव आउने गरेको भन्दै उनले कुन प्रस्ताव के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताए । ‘पार्टीभित्र विग्रहकारी स्थिति अन्त्य हुनुपर्छ, त्यसका लागि सम्बन्धित सबै पक्षले कहाँ कहाँ आफूले भूमिका खेल्ने हो, जिम्मेवारीपूर्वक खेल्नुपर्छ, तर कुनै पनि कुरा पार्टीको पद्धतिभन्दा फरक ढंगले हुन सक्दैन’ पोखरेलले भनेका छन्, ‘पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ जेठ २ गते जाने कुरा गरिरहेका छौं । त्यस बेलाको विद्यमान विधान र नियमावलीले के भन्छ ? त्यसले अनुमति दिने, स्वीकार गर्ने, त्यसमा व्यवस्था भएको कुरालाई सबैले पालना गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web