कोरोना महामारीकाबीच सीप नसिकी आधाभन्दा बढी कामदार वैदेशिक रोजगारीमा

साउन १५, २०७८ मा प्रकाशित | 571 views

काठमाडौं । कोरोना महामारीकाबीच मुलुकमा रोजगारीको अवसर नहुँदा पुनः विदेश जाने नेपालीको संख्या बढेको छ । एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ। नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा १ लाख ५५ हजार २ सय ४२ जना पुरुष रहेका छन् भने ११ हजार ४ सय ५६ जना महिला रहेका छन् । यसबीचमा उच्च कुशल सीप भएका ५५ पुरुष र ६ महिला गरी जम्मा ६१ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, प्रोफेसनल सीप भएका २२६ पुरुष र २० महिला वैदेशिक रोजगारीमा गएका छन् । यसका अलवा अर्ध कुशल क्षमता भएका १४ हजार ५ सय २७ पुरुष र १ हजार १ सय ५६ महिला वैदेशिक रोजगारीमा गएका छन् । सामान्य सिप भएका ६५ हजार ८ सय ६९ पुरुष र ४ हजार ५ सय ५७ महिला वैदेशिक रोजगारमा गएका छन् । श्रम स्वीकृति लिएर जाने नेपालीका श्रम गन्तव्य मुलुक, साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) , बहराइन, कुवेत, जापानलगायत मुलुक रहेका छन् । यस अवधिमा सबैभन्दा धेरै कतार गएका छन् । एक वर्षमा कतारको लागि ५४ हजार ९१५ जनाले श्रम स्वकृति लिएका छन् । दोस्रोमा साउदी अरब रहेका छन् । साउदीको लागि ४६ हजार ९६० जनाले स्वकृति लिएका छन् । सीप नसिकी जाने ८० हजार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका ८० हजारभन्दा धेरै मानिस सामान्य सीप पनि नजान्ने रहेका छन् । विभागको तथ्यांक अनुसार यसविचमा ७४ हजार ६ सय ६५ पुरुष र ५ हजार ७ सय १७ जना महिला सामान्य सीप नसिकी विदेश पुगेका छन् । स्वदेशमा रोजगारीको अवसर नपाएका अथवा रोजगारीको सम्भावना नदेखेका युवाहरु विभिन्न मुलुकमा पसिना बगाइरहेका छन् । सरकारले अनिवार्य रुपमा सीप सिकेर विदेश पठाउने नीति ल्याउन नसक्दा सीपमुलुक तालिम नलिइ विदेश जाने गरेका छन् । युवाहरुले सीप बिना नै विदेशी भूमिमा पुग्दा सोचेअनुसारको श्रम र मुल्य नपाउने बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web