कोरोना खोपका लागि कुटनीतिक प्रयास थाल्न सांसदहरूको सुझाव

साउन १२, २०७८ मा प्रकाशित | 488 views

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरिद प्रक्रिया चाँडै अघि बढाउन कुटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको मङ्गलवारको विशेष समयमा उनीहरूले विदेशमा रहेका नेपाली नियोग र कुटनीतिक अधिकारीलाई नेपालमा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे ।

नेपाली काङ्ग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । देशका विभिन्न भागमा बाढी–पहिरोबाट पीडित भएकालाई क्षतिपूर्तिको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो । निर्मला पन्तलाई चाँडो न्याय दिन उहाँले माग गर्नुभयो ।

नेकपा एमालेकी सांसद विमला घिमिरेले संसदमा आरोप–प्रत्यारोपको राजनीति त्यागेर महामारी नियन्त्रण र नागरिकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । एमालेकै सांसद अगमप्रसाद वान्तवा राईले सरकारले भूमिहीनका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो भने सांसद तुलसाकुमारी दाहालले कोरोना सङ्क्रमण बढ्दै गरेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नहुने सुझाव दिनुभयो ।

नेकपा माओवादी केन्द्रका मायाप्रसाद शर्माले सबै राजनीतिक दल र नागरिककाे प्रयासबाट देशमा परिवर्तन भएको यथार्थ सुनाउँदै संविधान संरक्षण र गणतन्त्रको संस्थागत विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने उहाँले सुनाउनुभयो । नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले सरकारले खोप खरिदका लागि गरेको निर्णयको स्वागत गर्दै समयमै सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सुझाव दिनुभयो ।

सांसद विमला राई पौडेलले देश संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको बताउँदै सर्वोच्च अदालतको फैसला भोलिका लागि नजिर बन्ने र त्यसबारेमा विस्तृत छलफल गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले ओली सरकारले थालेका विकास निर्माणका योजनालाई निरन्तरता दिन सरकारसँग माग गर्नुभयो भने एमालेकै सांसद दीपा गुरुङले चुनौतीपूर्ण अवस्थामा रहेको गठबन्धन सरकारले नागरिकका समस्या समाधान गर्नेमा शङ्का व्यक्त गर्नुभयो । नेकपा एमालेकी सांसद नैनकला ओझाले जनादेशबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका राम्रा कामलाई प्राथमिकता दिन सरकारसँग माग गर्नुभयो । अर्की सांसद सुमित्रा बिसीले देशभर महिला हिंसाका घटना बढेकामा दोषीलाई कारबाहीको माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद दृगनारायण पाण्डेयले सरकारले पहिलो प्राथमिकतामा कोभिड–१९ खोपलाई राख्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web