सुजिता मृत्यु प्रकरणमा दाइ नाता पर्ने पक्राउ

साउन ८, २०७८ मा प्रकाशित | 410 views

चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा उनको आफ्नै ठूलो बुबाको छोरालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले कार्यालयमा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको हो ।

मृतक सुजिताको पृष्ठभूमि लगायत अन्य गतिविधिको सुक्ष्म अनुसन्धान गर्ने क्रममा ठूलो बुबाको छोरा सचिन भनिने शुकदेव भण्डारीसँग अनैतिक सम्बन्धले घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए । उनका अनुसार सुजिता पढ्नका लागि काठमाडौंमा ‘दिदीको घर जान्छु’ भनेर गएको र केही दिनपछि शुकदेवलाई अलग्गै कोठा खोज्न लगाई सँगै बसेको प्रहरीको दाबी छ ।

“सुजिता पढ्नका लागि काठमाडौं जाने योजना र शुकदेवसँग सँगै बस्ने योजना बनाएको देखिन्छ,” प्रहरी उपरीक्षक अधिकारीले भने ।

शारीरिक सम्बन्ध भएपछि नैतिक तथा सामाजिक डरले सुजिताले पटक–पटक बिहे गर्न दबाब दिँदै आएको र उनीहरूले विभिन्न विकल्प खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ । “उनीहरूले कि विदेश गएर सँगै बस्ने या अपहरणको नाटक गरी कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको देखिएको छ,” अधिकारीले भने ।

दुईजनाबीच बिहेको बिषयमा विवाद हुँदा असार ९ गते सुजिताले ‘मर्छु’ भनेर घुर्की देखाएकाे र शुकदेवले जेसुकै गर भनेपछि उनीहरूबीच त्यो दिनबाट दोहोरो संवाद नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंबाट प्रहरीले असार ७ गते साँझ शुकदेवलाई पक्राउ गरी थप अनुसन्धानको अघि बढाइएको जनाएको छ । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आत्महत्या दुरुत्साहन ठहर भएमा पाँच वर्ष कैद र ५० हजार रुपयाँ जरिबानाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web