नहर भत्किँदा पाँच सयभन्दा बढी घर डुबानमा

साउन ५, २०७८ मा प्रकाशित | 358 views

सप्तरी । सप्तरीमा सबैभन्दा पुरानो नहर भत्किदा ५ सयभन्दा बढी घर डुबानमा परेको छ भने जनजीवन समेत प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित चन्द्र नहर भत्काएको हो । अमहा, टेंग्रा लगायत खोलाको बाढीले दुई ठाउँमा नहर भत्काएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जनाए ।

दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको उनले बताए । उनले भने, ‘लगातारको वर्षाका कारण जंगली क्षेत्रबाट अमहा, टेंग्रा लगायत नदीको बाढी ओभरफ्लो भई नहर कटान गरेको हो ।’

नहर कटानपछि आएको बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । नगरप्रमुख गौतमले सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २, ४ र ११ का घरहरु डुबानमा परेको बताए ।

यस्तै जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ स्थित मंसापुर र वडा नम्बर ५ स्थित बरसाइनका केही घर डुबेको छ ।

गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबानमा परेको बताए ।

तिलाठी–कोइलाडी वडा नम्बर ८ स्थित तोपा बस्तीका २५ घरसमेत डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण नदीहरूमा जलस्तर बढ्दै गएको छ ।

सप्तकोशी, त्रियुगा र बलान नदीमा पानीको सतह अझै बढ्ने पूर्वानुमान रहेको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

सीमावर्ती क्षेत्र अवस्थित सप्तकोशी, त्रियुगा र जिता, बलान नदीमा आउने बाढीको पानी भारतीय बाँधका कारण निकास नहुँदा गोबरगढा, हनुमाननगर, भारदह, फतेपुर, रम्पुरा, मल्हनिया, डलवा, तिलाठी, कोईलाडी, लालापटी, सकरपुरा लगायतका क्षेत्र डुबानमा पर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web