मेलम्चीको पानी काठमाडौँ आउन कठिन

साउन ४, २०७८ मा प्रकाशित | 481 views

काठमाडौँ । मेलम्चीको पानी अब कहिले काठमाडौँ आउँछ ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ । असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पु-याएकाले तत्काल पानी ल्याउन सकिने अवस्था छैन । बाढीले बिगारेको संरचनाका सफाइबाट मेलम्ची आयोजनाको काम सुरु हुनेछ ।
बाढीले पुरिएका संरचनाको सफाइ र पुनर्निर्माण तथा मर्मत सुधार गरेपछि मात्रै काठमाडौँमा पानी पठाउन सकिने समितिले जनाएको छ । क्षति पु-याएको संरचनाका पुनर्निर्माण वर्षात्पछि सुरु हुने बताइएको छ । समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “पुरिएका सबै संरचना सफा गर्नुप-यो, वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ, पहिला सडक बन्नुपर्छ, पुनः योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेकाले पानी कहिले आउँछ यसै भन्न सकिने अवस्था छैन ।”
उहाँका अनुसार आयोजनामा करिब दुई अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी छ । आयोजना निर्माण स्थलमा पुग्ने पहुँच मार्ग र पुल बाढीले बगाएकोले सबैभन्दा पहिले पहुँच मार्ग र पुल मर्मत, सुधार, पुनर्निर्माण वा नयाँ निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । यो काम वर्षायाममा सम्भव छैन । “मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बु–अगरी खण्डमा बाढीपहिरोले मोटरबाटो बगाएको थियो । सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ”, पन्तले भन्नुभयो, “चार स्थानमा बाटो बगाएको छ, बाटो निर्माण नहुँदासम्म आयोजनाका काम कठिन छ, हेडवक्र्स सुरुङलगायत सबै संरचना सफा गर्नुपर्छ ।”
हेडवक्र्स करिब १० मिटर पुरिएको जानकारी समितिलाई दिइएको छ । हेडवक्र्समा करिब तीन लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको र त्यसलाई हटाउन करिब ३० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसअघि अस्थायी ड्याम बनाएर पानी काठमाडौँ पठाइएको थियो । यो अस्थायी ड्याम बाढीले बगाएको छ । तत्काल पानी ल्याउन अर्को अस्थायी ड्याम निर्माण गर्नुपर्छ तर पहिले क्षति भएका संरचना सफा नगर्दासम्म अस्थायी ड्याम बनाउन सकिने अवस्था छैन । हेडवक्र्स स्थल पुग्ने सडक नै अवरुद्ध छ ।
सुरुङभित्र पानी छ र यो पानी बाहिर निकालेपछि सुरुङ परीक्षण गर्नुपर्ने हुन्छ । अम्बाथानको सहायक सुरुङ टालिएको छ । गत जेठमा परीक्षणस्वरूप काठमाडौँ पठाइएको पानी बन्द गरी सुरुङ निरीक्षणका काम भइरहेको थियो । असारको बाढीपछि सबै काम रोकिएका छन् । सडक र संरचना भत्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web