चीनसंगको ब्यापारिक नाका बन्द

साउन ३, २०७८ मा प्रकाशित | 414 views

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट महिना दिनयता मालवाहक सवारी आउजाउ ठप्प छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्ग (२६ किलोमिटर) को लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि ठप्प नाका सञ्चालनमा आउन सकेको छैन ।

बढ्दो कोरोनाकालमा पनि ‘आइसोलेट एरिया’ सहित मालवाहक सवारी सञ्चालनमा आएको तातोपानी नाका अघिल्लो बर्खाझैं भौतिक अवस्थाकै कारण रोकिने अवस्थामा पुगेको उनको भनाइ छ । चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल पार गर्न पूरै भासिने त्रासमा छेउमै रोकिने गरेका छन् । तसर्थ कामदारले बोकेर कन्टेनरका व्यापारिक सामग्री पुलवारिको बजारसम्म ओसार्छन् । त्यहाँ अड्किएका केही कन्टेनर छन्, तिनैबाट कोदारी बजारसम्म सामग्री ल्याएर थुपारेपछि माथिल्लो बाटो हुँदै कामदारले तातोपानी बजारछेउसम्म ल्याउने गरेका छन् ।

२५ देखि ३० जनाको कामदारको टोलीले दिनहुँ जोखिम मोलेर जीर्ण पुल र कोदारी सडक हुँदै कन्टेनरसम्म सामान ओसार्ने गरेका छन् । एक कन्टेनरको सामग्री ओसार्न कामदारलाई तीनदेखि चार घण्टा लाग्छ । त्यसबाट कामदारको टोलीले एक कन्टेनरबाट २५ देखि ३० हजार रुपैयाँ लिन्छन् । यसअघि कोदारी र तातोपानी बजार जोड्ने कोदारी खण्डको ३५ मिटर सडक भासिएपछि केही समय मजदुरबाट बोकेर कोदारी बजारसम्म ल्याइएका सामग्री कोदारी स्वरोजगार युवा समाजले चलाएको तुइनबाट तातोपानी बजारको कन्टेनरसम्म ओसारिन्थ्यो ।

‘अहिले मजदुरकै भरमा सामग्री ओसार्ने काम भइरहेको छ,’ भोटेकोसी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले भने । सडक र पुलकै कारण नाका असुरक्षित हुँदा चीनको खासा हुँदै दिनहुँ भित्रिने कन्टेनर र सामग्री शून्यमा पुग्न लागेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले गुनासो गरे । ‘नाका व्यवस्थित नहुँदा २० वर्षदेखि चल्दै आएका एक हजार चार सय कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web