कर्णाली खुलालु–सल्लीसल्ला सडक खुल्यो

साउन १, २०७८ मा प्रकाशित | 472 views

कालीकोट । नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गत खुलालु–लैफु–सल्लीसल्ला सडक खण्ड निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले जिम्मा लिएको १ सय २२ किलोमिटर सडक बिहीबार हस्तान्तरण गरिएको हो ।

सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी मिलन कार्कीले हिल्सा–सिमकोट सडक निर्माण आयोजनाका प्रमुख बिसुन्दास लामालाई सडकका सबै काजजात हस्तान्तरण गरेका छन् । ‘सेनाले जम्मा लिएको सबै काम सकेका छौं,’ प्रमुख सेनानी कार्कीले भने, ‘सडकको स्तरोन्नति, कालोपत्र, नदी तथा ठूला खोलाका पक्की पुल बनाउने काम सडक विभागले गर्नेछ ।’ आयोजना प्रमुख लामाले विस्फोट गर्नुपर्ने ठाउँमा सेनाको काम छिटो र प्रभावकारी भएको बताए ।

कडा चट्टान भएपछि सेनाले झन्डै ७ वर्ष लगाएर सडकको ट्रयाक खोलेको हो । कार्यदलले सडक निर्माणका लागि कालीकोटको लालीघाट, राताडाडा, बाजुराको पिलुचौर, धुलाचौर, तिथिचौर, हुम्लाको गल्फागाड र खाचामा क्याम्प राखेर सडक निर्माण गरेको थियो । हाल अन्यत्रका क्याम्प हटाइए पनि कालीकोटको लालीघाट, बाजुराको तिथिचौर र हुम्लाको खाचामा क्याम्प कायमै छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भारतको रुपैडियादेखि चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण करिडोरअन्र्तगत यो सडक निर्माण भएको हो । खुलालुदेखि हिल्सासम्म २ सय ८१ किमि लम्बाइ छ । २०७१ चैत ५ गते सरकारले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो । कार्कीका अनुसार अब कालीकोट, बाजुरा, मुगु र हुम्लाका दर्जनौं ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक निर्माणको अनुभवका आधारमा कर्णाली करिडोरलाई ६ मिटर चौडा बनाइएको उनले बताए ।

कालीकोटको खुलालुस्थित कर्णाली नदीपारिबाट मुगु र हुम्ला कर्णाली हुँदै करिब ३ दर्जन खोला र कडा चट्टान छिचोलेर सडक निर्माण गरिएको हो । ५ वर्षभित्र ट्रयाक खोल्ने लक्ष्य लिएर निर्माणको काम सुरु गरे पनि बाढीपहिरो र हिउँका कारण अवधि लम्बिएको थियो । पछिल्ला दुई वर्षमा कोरोना महामारीका कारण निर्माणको काम प्रभावित भएको प्रमुख सेनानी कार्कीले बताए । उनका अनुसार करिडोरमा पर्ने झन्डै एक दर्जन ठूला खोलामा फलामे पुल (बेलिब्रिज) र १० वटा खोलामा कल्भर्ट निर्माण गरिएको छ ।

सेनाले कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको कुवाडी खोलाखेखि सल्लीसल्लासम्म ३९.७५ किलोमिटरमा सडक निर्माणको काम सम्पन्न गरेको हो । ‘अहिले करिडोरको ठाउँठाउँमा पहिरो खसेको छ,’ कार्कीले भने, ‘वर्षाको बाढीपहिरोले बिगारेको सडक कात्तिक मसान्तसम्म हामी नै मर्मत गर्छाैं ।’ कडा चट्टान, पर्याप्त बजेटको अभाव र निकासामा हुने गरेको ढिलासुस्तीले पनि काम प्रभावित भएको उनले बताए । उनका अनुसार अहिलेसम्म सडक निर्माणमा १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।

सल्लीसल्लादेखि हुम्लाको सदरमुकाम सिमकोटसम्मको ५१ किमि सडकमा भने सडक विभागमार्फत काम भइरहेको छ । सिमकोट जोड्न बीचमा बाँकी रहेको १२ किमि सडक खण्डको काम पनि सेनालाई दिएर हुम्लावासीको सडक सपना पूरा गर्नुपर्ने नागरिक अगुवा रमेश ऐडीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web