नेपालबाट चोरेर फ्रान्स पुगेका मुर्ति फर्काउन अझै पहल थालिएन

असार ३१, २०७८ मा प्रकाशित | 3375 views

कमठमाडौँ । पाटनको च्यासलहिटीको विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) र भक्तपुर नासमना टोलको उमा–महेश्वर प्रस्तर मूर्ति ६ दशकअघि चोरी भएर सुटुक्क नेपालबाट बाहिरिए । खोज्ने र फर्काउने चासो ढिला सुरु भएका दुवै मूर्ति अझैसम्म नेपाल आइपुग्ने प्रक्रिया सुरु भएको छैन ।

पुरातत्त्व अन्वेषक लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) मा विस्तृतमा उल्लेख गरिएका यी दुवै सम्पदा पेरिसको एसियाली कलासम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम) मा छन् भन्ने धेरै वर्षपछि खुल्यो ।

भएको थियो । तर अहिलेसम्म पनि ती मूर्ति नेपाल ल्याइएका छैनन् । विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) को मूर्ति दसौं शताब्दीको हो भने उमा–महेश्वर प्रस्तर मूर्ति १२ औं शताब्दीमा निर्मित हो ।

वाङ्देलको शोधअनुसार लक्ष्मी र गरुड साथमा राखेर उभिएको विष्णु आकृतिको मूर्ति सन् ७० दशकको अन्त्यतिर हराएको थियो । यस्तै उमा–महेश्वरको मूर्ति सन् १९८४ मे २३ मा चोरिएको थियो । यी मूर्ति गिमे म्युजियमा रहेको थाहा पाएपछि आर्ट–क्युरेटर एवं अन्वेषक डिना वाङ्देल (हाल दिवंगत) ले तिनलाई फिर्ता गर्न सन् २०१६ पछाडि लेख्दै र बोल्दै आएकी थिइन् ।

‘गिमे म्युजियममा रहेका सम्पदा घर फर्काउने पहल दुई वर्षयता हुँदै आएको थियो तर सफल भएको थिएन । अहिले फेरि उत्पत्तिको मुलुक तथा स्थानबारे प्रमाणित कागजात पेरिसस्थित नेपाली दूतावासमा पठाएर मूर्ति घरफिर्तीको पहल थालेका छौं,’ पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले भने । पुरातत्त्वका अनुसार दुई मूर्ति घर फर्काउन कार्गो र अन्य प्रक्रियाका लागि बजेटसमेत छुट्याइएको थियो । ‘मूर्ति किन फर्काइएन भनेर सोध्न सजिलो छ,’ उनले भने, ‘पुरातत्त्वले काठमाडौंस्थित फ्रेन्च राजदूतसमेतलाई बोलाएर मूर्ति फर्काउनका लागि सहजीकरण गरिदिन अनुरोध गरेको हो तर पार लागेन ।’

महानिर्देशक गौतमका अनुसार सांस्कृतिक सम्पदालाई फिर्ता ल्याउन फ्रान्स सरकारको निर्णय चाहिने भएकाले मूर्तिहरूको ‘उत्पत्तिको प्रमाण’ स्पष्ट पार्ने कागजात फेरि अर्को चरणमा पनि पठाइएको छ । पेरिसस्थित राजदूत दीपक अधिकारीका अनुसार ‘गिमे’ सरकारी म्युजियम भएकाले पनि त्यसमा रहेका नेपाली सम्पदा फर्काउन केही प्रक्रियागत कामकारबाही भइरहेको छ ।

 

‘प्रधानमन्त्री ओलीलाई दुई वर्षअघि म आफैंले गिमे म्युजियम लिएर गएको थिएँ । त्यतिबेला आफ्नो प्राचीन सम्पदा घर फर्काइनुपर्ने विषयमा कुराकानी भएको थियो,’ उनले भने । तर सम्पदा उत्पत्तिको पहिचानसम्बन्धी कागजी प्रक्रिया र अन्य कानुनी कारणले मूर्ति फर्काउने काममा ढिलाइ भए पनि यसमा तदारुकता रहने उनले बताए । युनेस्को अभिसन्धिअनुसार पुरातात्त्विक महत्त्वका यस्ता सम्पदा वा सामग्री जे जहाँ रहे पनि हकदाबीका आधारमा ‘उत्पत्तिको मुलुक’ लाई फिर्ता गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web