खोला थुनिएर बस्ती जोखिममा

असार ३०, २०७८ मा प्रकाशित | 274 views

काठमाडौँ । दार्चुलाको नौगाड गाउँपालिका–३ स्थित खारसहितका साना खोलामा आएको बाढीपहिरोका कारण खार र नौगाड खोलाको दोभानमा बनेको ड्याम खुलाउने प्रयास भएको छ । गत बिहीबार बिहान आएको बाढीले दोभानमा ड्याम बनेको हो ।

खार खोला थुनिएर एक सय मिटर चौडाइ र करिब ४ सय मिटर लामो ताल बनेको छ । ड्यामका कारण नजिकै रहेको बस्ती जोखिममा रहेको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् । ‘खार र नौगाड खोलाको दोभानमा ड्याम बनेको छ,’ उनले भनिन्, ‘सुरक्षाकर्मी र स्थानीय मिलेर ड्याम खोल्ने प्रयास गरिरहेका छन् । नजिकै बस्ती भएकाले डर लागिरहेको छ ।’

शनिबारदेखि स्थानीयले ड्याम खुलाउने प्रयास गरे पनि नसकेपछि सोमबारदेखि सुरक्षाकर्मीले थुनिएको खोला खोल्ने प्रयास गरेका हुन् । मंगलबार साँझसम्म केही मात्रामा ड्यामको पानी घटाउन सकिएको र पूर्णरूपमा बहाव खुलाउन अझै समय लाग्ने दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । ‘आइतबारदेखि नै थुनिएको खोला खोल्ने काम भइरहेको छ । सोमबार चार/पाँच मिटर चौडाइ, ४५ मिटर लम्बाइ र डेढ मिटरजति खोलिएको थियो,’ उनले भने, ‘सोमबार केही मात्रामा पानी घटेको छ । मंगलबार पनि यसै हाराहारीमा काम भएको छ । दुई/तीन दिनमा दोभानमा जम्मा भएको माटो, ढुंगा पन्छ्याएर नदी खुलाउन सकिन्छ होला ।’

असार २५ गते गुन्ढाडु खोलामा बाढीपहिरो आएपछि देउलाड, जामिर बगर क्षेत्रका बासिन्दा अहिले राति घर छाडेर बसेका छन् । ड्याम आसपास तथा तल्लो तटीय क्षेत्रका बस्तीसमेत जोखिममा छन् । नदी थुनिएको ठाउँनजिक खार खोला, जामिर गाउँ पर्छन् । तल्लो तटीय क्षेत्रमा होपरी बगर, धुलिगाडा पर्छन् । नौगाड खोला मिसिने चौलानी नदी तटीय क्षेत्रमा जलस्तर बढ्ने भएकाले स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । जामिर बस्तीका १५ परिवार खोला थुनिएको ठाउँभन्दा ५० मिटर मात्रै टाढा छन् । बस्ती डुबान र कटानको डरले यो बस्तीका तीन परिवार सुरक्षित स्थानमा गएका छन् । अन्य परिवार जोखिम मोलेर बसेका छन् ।

बाढीपहिरोले वडा ३ कै खार गाउँमा असार २५ गते पहिरोले पुरिएर एकै परिवारका दुईसहित ३ जनाको मृत्यु भएको थियो । आधा दर्जन परिवार अहिले राहत र पुनःस्थापनाको पर्खाइमा छन् । केही परिवार घर/जमिन बाढीले बगाएपछि विस्थापित भएका छन् । बाढी तथा पहिरोका कारण धनजनको क्षति भएपछि ड्यामको अध्ययन गर्न शुक्रबार सदरमुकामबाट सुरक्षा अधिकारी र जनप्रतिनिधि पनि पुगेका थिए । खोलासम्म पुग्ने बाटो नहुँदा ड्याम खोल्न एक्स्काभेटर प्रयोग गर्न नसकिएको प्रशासनले जनाएको छ । नौगाडमा पछिल्ला तीन/चार वर्षयता बाढीपहिरोका कारण बर्सेनि धनजनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web