काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० अर्थात (एसईई)को नतिजा आउन अझै एक महिना लाग्ने भएको छ ।
शिक्षा विकास तथा समन्वय एकाईले जिल्लाहरुबाट अहिलेसम्म विद्यार्थीको प्राताङ्क विवरण अद्यावधिक गरेर पठाउन बाँकी रहेकाले नतिजा प्रकाशनमा ढिलो हुने निश्चित भएको हो । विद्यार्थीको प्राताङ्क विवरण अद्यावधिक गर्नको लागी कोरोनाको साथै बाढी, पहिरो तथा डुबानको कारण ढिलाई भएकाले साउन पहिलो साता सार्वजनिक गर्ने लक्ष्य राखिएको नतिजा आउनको लागी साउन अन्तिम साता लाग्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभएको छ । त्यसको लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण चाडै पठाउन ताकेता भैरहेको छ ।
समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिएपनि हालसम्म एक जिल्लाबाट मात्रै विवरण आएको र त्यो पनि अपूर्ण रहेकाले फर्काइएको बोर्डले जनाएको छ ।
जिल्लाहरुबाट विवरण प्राप्त भएपछि बोर्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्ने र त्यसको लागी साउन अन्तिम साता पुग्ने जनाएको हो ।
19.67¡ÆC