काठमाडौँ । कांग्रेसको नेतृत्व लिन रस्साकसी चलिरहेका बेला अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्याशीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पनि आफ्नो दौड अघि बढाएका छन् । आसन्न महाधिवेशनमा युवा पंक्तिलाई जोडेर प्रतिस्पर्धामा उत्रने उद्घोष गर्दै पार्टीभित्र छलफल चलाइरहेका सिटौलाको योजना भने रणनीति मात्रै रहेको धेरैको अनुमान छ ।
तर उनले भने रणनीतिक नभएर आफ्नो नेतृत्वमा विस्तारित टिम प्रतिस्पर्धामै उत्रने ठोकुवा गरे । अघिल्लो महाधिवेशनको तुलनामा यसपटक परिस्थिति भिन्न रहेको उनको बुझाइ छ । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेसँगै परम्परागत गुटहरू भत्किएर नयाँ परिस्थिति खडा हुने आकलन उनको छ ।
‘१४ औं महाधिवेशनको परिस्थिति नयाँ छ । राष्ट्रिय राजनीतिको परिदृश्य फरक ढंगले विकसित भएको छ । पार्टीको आन्तरिक संरचना र संगठनको तह नयाँ छ । नयाँ परिस्थिति देखेकाले मैले विस्तारित टिमसहितको उम्मेदवारी दिने सोच बनाएको हुँ,’ उनले भने, ‘यस पटकको प्रतिस्पर्धा विगतमा जस्तो परम्परागत हुने देखिन्न । देशभरका साथीहरूमा नयाँ खालको चेतना छ । सबैलाई जोडेर नयाँ ढंगले पार्टी हाँक्न सक्ने विस्तारित र पूर्ण टिम बनाउने योजनामा जुटेको छु ।’
सिटौलाले सभापति पदको उम्मेदवारी घोषणा गर्नुको बलियो आधार उनीसँग जोडिएका युवा नेताहरू गगन थापा, उमाकान्त चौधरी र प्रदीप पौडेल हुन् । १३ औं महाधिवेशनमा थापा सिटौला टिमबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका थिए । चौधरी कोषाध्यक्ष र पौडेल सदस्यका प्रत्याशी थिए । सभापतिका प्रत्याशी सिटौलाले त्यतिबेला ३ हजार २ सयमध्ये ३ सय २४ मत पाएका थिए । महामन्त्रीमा प्रतिस्पर्धा गरेका थापाले ५ सय ८४ मत पाएका थिए ।
पार्टीभित्र सिटौला तेस्रो धारको नेतृत्व गर्छन् । संस्थापनइतर पक्षमा रहे पनि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उनको सम्बन्ध राम्रो छैन । १३ औं महाधिवेशनमा सिटौलाकै कारण आफू पराजित भएको दुःखेसो गर्न पौडेलले अझै छाडेका छैनन् । पहिलो चरणको मतदानमा सभापतिका तीन प्रत्याशीमध्ये कुनैले पनि ५१ प्रतिशत नल्याएपछि बढी मत ल्याउने दुई प्रतिस्पर्धीबीच दोस्रो पटक मतदान भएको थियो । पहिलो मत ल्याउने देउवा र दोस्रो मत ल्याउने पौडेलबीचको दोस्रो प्रतिस्पर्धामा सिटौला देउवाको पक्षमा खुलेर लागेका थिए । सिटौलाकै साथ पाएर देउवा सभापति निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा पार्टी पराजित भएपछि देउवा र सिटौलाबीचको सम्बन्ध चिसियो । त्यसपछि उनले संस्थापन पक्ष त्यागेर आन्तरिक मुद्दामा इतर पक्षसँग जोडिँदै आएका थिए । तर पौडेलसँगको सम्बन्धमा कुनै सुधार नआए पनि उनी कुनै पक्षतिर नलागी तेस्रो समूहको अलग अस्तित्वलाई जीवित राख्दै आए । महाधिवेशनको मुखमा सिटौला पुनः देउवातिर जान सक्ने चर्चा चलिरहेका बेला थापा र पौडेलले भने संस्थापनइतर पक्ष नछाड्ने घोषणा गरेका छन् । बरु तेस्रो धार छाड्ने तर देउवातिर नजाने भन्दै उनीहरू दुवैले केही दिनअघि सिटौलालाई भेटेरै भनेका थिए ।
उपसभापति निधि टाढिएपछि देउवाले भने सिटौलालाई आफ्नै समूहमा ल्याउन जोडबल गरिरहेका छन् । देउवा र सिटौलाबीचको पछिल्लो सम्बन्धमा पनि निकटता बढ्दै गएको देखिएको छ । जसका कारण सिटौलासँग जोडिएका थापा र पौडेल भने सशंकित भएका छन् । १३ औं महाधिवेशनमा सभापति बनाउन सिटौला निर्णायक थिए । अहिले त्यही ‘पोजिसन’ मा अडिन उनी चाहन्छन् ।
युवा नेताहरू गगन र प्रदीपलाई गुमाउँदा आफ्नो बलियो आधार गुम्ने देखेपछि सिटौलाले पछिल्लोपटक आफैं उम्मेदवार बन्ने तयारी अघि बढाएका हुन् । उनले आफ्नो टिमसहित उम्मेदवारी दिने बताए पनि थापा र पौडेलले उनको समूहबाट उम्मेदवार हुने/नहुनेबारे निर्णय लिइसकेका छैनन् । महामन्त्रीमा थापालाई लिन सबै समूहको प्राथमिकता छ । उनको रोजाइ संस्थापनइतर खेमाको बलियो समूहसँग रहने देखिन्छ । ‘हामीहरू संस्थापन पक्षसँग जोडिने सम्भावना भने छैन । तर इतर पक्षमा कस्तो टिम बनाउने, कसरी अघि बढ्ने भन्नेमा छलफलमै छौं,’ पौडेलले भने ।
थापाले पनि सकभर सबै युवाहरूको टिम बनाएर अघि बढ्ने सम्भावना रहेको बताएका छन् । आइतबार नै थापा, चन्द्र भण्डारीसहित एक दर्जन युवा नेताबीच राजधानीको एक पार्टी प्यालेसमा छलफल भएको थियो । ‘जुन टिमबाट उठे पनि सबै युवाहरू एउटै समूहबाट उठ्नुपर्छ भन्नेबारेमा हामीबीच लामो बसाइ र छलफल चल्दै आएको छ,’ सहभागीमध्येका नेता रामकृष्ण यादवले भने, ‘संस्थापनइतर पक्षमा एउटै उम्मेदवार होस् भनेर हामीले निरन्तर दबाब दिइरहेका छौं । भएन भने एउटा टिम रोज्नुपर्ने बाध्यतामा हामी पुग्छौं ।’ त्यस्तो अवस्थामा युवाहरूको रोजाइ सिटौला, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह वा शेखर कोइरालामध्ये को हुन्छन् भन्ने यकिन भने उनीहरूले गरिसकेका छैनन् ।
सिटौलाले भने उम्मेदवारहरूबीच छलफल चलिरहे पनि आफूहरू एउटै टिममा हुने दाबी गरे । ‘छरपस्ट भएको समूहसँग जोडिन सक्ने अवस्था छैन,’ संस्थापनइतर समूहका रामचन्द्र पौडेल पक्षलाई लक्षित गर्दै सिटौलाले भने, ‘थापा र पौडेलसहित सबै पक्षलाई जोडेर मेरो विस्तारित टिम बन्छ ।’ उनी नेतृत्व क्षमता र परिस्थितिलाई बुझ्न सक्ने ल्याकत भएको र सबैलाई जोड्न सक्ने कौशल भएको नेतृत्व चाहिने बताउँदै त्यस्तो गुण आफूमा रहेको दाबी गर्छन् ।
19.12¡ÆC