काठमाडौँ । सहिद भरत ढुङ्गानाको स्मृतिग्रन्थ सार्वजनिक भएको छ । बिहिबार स्मृतिग्रन्थ सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गाना लोकप्रिय, जनताको कामका लागि सबै चिज त्याग्न सक्ने नेता भएको बताउनुभयो । उहाँले भरत ढुङ्गाना आफ्नो विचार र क्रान्तिप्रति निष्ठावान भएकै कारण जनप्रिय हुनुभएको टिप्पणी गर्नुभयो । भरत ढुङ्गानाको लोकप्रिय कार्यशैली, आफूभन्दा फरक विचार राख्ने व्यक्तिहरुसँग सहजै अन्तरक्रिया गर्न सक्ने क्षमता मौलिक भएको र यो सबैका लागि शिक्षाप्रद भएको बताउनुभयो । प्रचण्डले भरत ढुङ्गानाको हत्याले तत्कालिन पार्टी र क्रान्तिमा अतुलनीय क्षती पुगेको तर प्रतिक्रियावादी विरुद्धको लडाइँमा ढुङ्गानाको योगदानले ठूलो उर्जाको काम गरेको र राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेलेको स्मरण गर्नुभयो ।

हालको राजनीतिक उतारचढावका प्रसङ्गमा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादीबाट छुट्टिएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरुसँग शास्त्रार्थ गरेर बस्न र हारे उनीहरुकै पछि लाग्न तयार भएको बताउनुभयो । प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गर्नुभएको हो । नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताउनुभयो ।“शास्त्रार्थ गरौँ, जसले जित्छ, त्यसैलाई सबैले मानौँ । म शास्त्रार्थको निम्ति तयार छु । तपाईंहरूलाई लागेको छ, सबै मैले गुमाइदिएँ, तपाईंहरूले जित्नुभयो भने म तपाईंहरुको पछि लाग्छु । मलाई केही डर छैन ।” उहाँले भन्नुभयो ।

शास्त्रार्थ गरे सबै पक्ष एकै ठाउँमा आउने उहाँको विस्वास थियो । “पूर्विय दर्शनको शास्त्रार्थमा प्रवेश गरौँ, हप्ता दशदिन शास्त्रार्थ गरेरै बसौँ बरु र एउटा निष्कर्ष निकालौँ । वैज्ञानिक समाजवादको निम्ति, साम्यवादको निम्ति तपाईंहरूसँगै लड्न म तयार छु । मेरो विचारमा ल लडिराखेको छु, तपाईंहरूको विचारमा तपाईंहरू लडिराख्नु भएको छ । साँच्चै को चाहिँ हो, त्यसको शास्त्रार्थद्धारा निष्कर्ष निकालौँ । मलाई लाग्छ, हामी एकै ठाउँमा आउँछौँ ।” प्रचण्डले भन्नुभयो ।

उहाँले आफूले राम्रो कामको निम्ति गरेका प्रयासहरूलाई हिजोका सहयोद्धाहरूले नबिर्सिदिन अनुरोध गर्नुभयो । संविधानमा संघियता, गणतन्त्र, धर्मनिरपेक्षताका लागि आफूहरूले भनेजस्तो नभएकोमा नोट अफ डिसेन्टसहित संविधानलाई आलोचनात्मक समर्थन गरेको प्रचण्डको प्रष्टिकरण थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भरत ढुङ्गाना फरक राजनीतिक दृष्टिकोण, फरक विचार, फरक धार भएपनि अन्योन्याश्रित सम्पर्क र सम्बन्ध रहेको स्मरण भयो । भरत ढुङ्गाना फरक विचारधारा भएकासँग पनि सहज सम्बन्ध स्थापित गर्न सक्ने नेता भएको बताउनुभयो । राजनीतिक दर्शन, वादप्रतिवाद र लोकतन्त्रका प्रक्रियाका विविधतामा भरत ढुङ्गाना घुलमिल हुनसक्ने नेता भएको उहाँको भनाई थियो ।

फरक प्रसङ्गमा उहाँले अहिलेको विघटित संसद पुनःस्थापनाका लागि प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहितका नेताले गरेको संघर्ष उचित भएको टिप्पणी गर्नुभयो । “मलाई त गजब लागेको थियो, तीन तीनजना पूर्वप्रधानमन्त्री सडकमा पलेटी कसेर बस्दा, खुसी लाग्यो त्यसैको बलमा संसद पुनःस्थापना भएको हो ।” उहाँले भन्नुभयो ।

नेकपा माओवादी (केन्द्र) का नेता हितबहादुर तामाङ्गले सहिद भरत ढुङ्गानाको योगदान पछिल्लो पुस्ताका लागि मार्गदर्शन भएको बताउनुभयो । सहिद भरत ढुङ्गानाले जिल्ला विकास समितिको सभापति पद त्यागेर भूमिगत जीवनका लागि आउनुभएको स्मरण गर्दै नेता तामाङ्गले भरत ढुङ्गाना अस्थिर स्वभावको नभई गतिशील स्वभावको भएको बताउनुभयो । पार्टी र क्रान्तिप्रति समर्पित ढुङ्गाना अवस्थाअनुसार आफूलाई बदल्न सक्ने नेता भएको तामाङ्गले स्मरण गर्नुभयो । ढुङ्गाना अवसरवादी भएको भए, पद प्रतिष्ठा त्यागेर क्रान्तिमा होमिन नसक्ने उहाँको भनाई थियो ।

नेपाल कम्युनिस्ट पार्टीका नेता, लेखक एवं साहित्यकार अनिल शर्मा ‘विरही’ले सहिदको सपना पुरा नभएको भन्दै संसदीय व्यवस्थाभित्रका सबै प्रयोगहरू हेरिसकेकाले यो व्यवस्था असफल भएको बताउनुभयो । नेता विरहीले पूर्विय दर्शमा देशभित्रको विवादहरुलाई शास्त्रार्थको माध्यमबाट हल गर्न सकिने बताउनुभयो । “आफ्नो देशभित्र शासन प्रणाली कस्तो हुने ?कुन विचार र संस्कृतिबाट शासन गर्ने भन्ने कुरा शास्त्रार्थको आधारमा गरिन्छ । पूर्विय दर्शन मान्ने हो भने शास्त्रार्थमा जसले जित्छ त्यो विचारको आधारमा शासन प्रणाली अपनाऔँ । नेपालको राजनीतिक अन्यौलता, शासन व्यवस्था पुँजीवादी कि वैज्ञानिक जनतालाई छान्न दिनुपर्छ ।” उहाँले भन्नुभयो । पूर्विय दर्शन मान्ने हो भने शसस्त्र बल प्रयोग गर्नुहुँदैन भन्ने उहाँको भनाई थियो । “यदि कसैले हामीसँग बन्दुक छ, त्यसैले हामीले पूर्विय दर्शन, संस्कृति र नागरिक अधिकारलाई मान्दैनौँ भन्छ भने बन्दुकको एकाधिकारलाई तोड्ने अधिकार नागरिकलाई हुन्छ ।” उहाँले भन्नुभयो ।

यस्तै नेकपा एमालेका नेता केशव पाण्डेले भरत ढुङ्गाना जनताबिच लोकप्रिय भएको चर्चा गर्दै जिल्ला सभापतिमा पार्टीको निर्णय नभई कार्यकर्ताको निर्णयले निर्वाचित हुनुभएको स्मरण गर्नुभयो । भरत ढुङ्गानालाई माओवादीमा जान रोक्न विभिन्न प्रयास गरिए पनि उहाँ आफ्नो आत्मनिर्णयमा अडिग रहेको र कसैले रोक्न नसकेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता दिनेश शर्मा ‘सागर’ले सहिद भरत ढुङ्गानाको स्मृतिग्रन्थले नयाँ पुस्ता योद्धाको इतिहास समेट्न सक्ने बताउनुभयो । उहाँ विचारप्रति कटिबद्ध नेता भएको स्मरण गर्दै नेता शर्माले परिर्वतनका निम्ति उहाँले गरेको योगदानको पुष्टि भएको बताउनुभयो ।

उहाँले अहिलेको शासन व्यवस्थामा संसदीय प्रणाली गलत रहेको भन्दै भरत ढुङ्गानाको भनाई स्मरण गर्नुभयो, “उहाँलाई सोधिएको रहेछ, तपाईं किन फेरि एमालेमा फर्किनुभएन भनेर उहाँको जवाफ, एमालेका साथीहरूसँग धेरैपटक बसेर छलफल र कुराकानी गरियो त्यहाँपनि विचार मार्गदर्शन सच्याउनुपर्ने भन्ने कुरा आयो तर त्यहाँभित्र माओवादलाई बिसर्ने र शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्ने पाएँ । क्रान्ति संसदबाट हुँदैन । जनविद्रोह सैनिक सुरक्षाका घेराभित्र थाहा हुँदैन, उहाँले भन्नुभएको सार र विषयवस्तु यही हो ।” नेता शर्माले भन्नुभयो ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले भरत ढुङ्गाना क्रान्तिकारी योद्धा भएको स्मरण गर्दै क्रान्तिको नेतृत्व गर्नेहरू सहिदको सपना बिर्सेर संसदीय भासमा डुबेको बताउनुभयो । वैज्ञानिक समाजवाद स्थापना गर्ने, जनताको सत्ता स्थापना गर्ने ढुङ्गानाको सपना थियो भन्दै उहाँले भरतजस्तै हजारौँ सहिद, अपाङ्ग र योद्धाहरूका सपना अधुरै रहेको बताउनुभयो । अहिलेको संसदीय व्यवस्थामाथि प्रश्न उठेको भन्दै उहाँले जनयुद्धको नेतृत्वकर्ता वैज्ञानिक समाजवाद निर्माण गर्ने बाटोमा फर्कनुपर्ने बताउनुभयो । “जनयुद्धको नेतृत्व सबै छोडेर वैज्ञानिक समाजवादका लागि लडेको हो, म त्यो नेतृत्व संसदीय भासमा डुबेको हेर्न चाहन्नँ ।” भण्डारीले भन्नुभयो । एकातिर जनयुद्धको नेतृत्व गरेको पक्तिले एकातिर वैज्ञानिक समाजवादको कुरा गर्ने र अर्कोतिर संसद विघठनको विरोध गर्ने र संविधान, संसद बचाउनुपर्छ भन्ने कुरा विरक्तलाग्दो भएको बताउनुभयो ।

संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबारे बहस गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, “पञ्चायतको संविधान २० वर्ष टिक्यो, २०४६ सालको संविधान पनि लामो समय टिक्यो । तर ०७२ को संविधान किन ५ वर्ष नहुँदै जनमत सङ्ग्रहको कुरा उठ्यो ? किन संसदीय व्यवस्थामा प्रश्न उठ्यो ? किनभने यो व्यवस्था निर्माण गर्दा यो सुधारिएको संसदीय व्यवस्था भनिएको थियो । सुधारिएको संसद सुधारिएको पञ्चायतजस्तै ध्वस्त हुन्छ । यसको पुष्टि अदालतले ग¥यो ।” उहाँले थप भन्नुभयो, “म विचारहरू डुब्न लागेकालाई फेरि आह्वान गर्छु, नेतृत्व साँच्चिकै इमान्दार छ भने, जहाँ भासिन पुग्यौ पुग्यौ तिमिहरू, जहाँ सुँगुरको खोरमा हेलिन पुग्यौ पुग्यौँ, माफी माग, फेरि फर्क आऊ, वैज्ञानिक समाजवादको निम्ति, फेरि निरन्तर क्रान्तिको लागि अगाडि बढौँ ।”

नेता भरत ढुङ्गानाको २०५९ साल असार ३१ गते धादिङको गुम्दीमा तत्कालीन शाही नेपाली सेनाले हत्या गरको थियो । ढुङ्गानासँगै अनेरास्ववियु (क्रान्तिकारी)का नेता बैकुण्ठ पोखरेलको पनि हत्या भएको थियो ।

लेखक नारायण नेपालले सङ्कलन तथा सम्पादन गर्नुभएको स्मृतिग्रन्थ कम्पन मिडिया प्रा.लिले प्रकाशन गरेको हो । पुस्तकमा विभिन्न नेता तथा सहकर्मीहरूको संस्मरण, नेता ढुङ्गानाका अन्तर्वार्ता, लेख, जिल्ला विकास समितिको सभापति हुँदा भएका निर्णय तथा कार्यक्रमहरू, विभिन्न व्यक्तिसँगको अन्तर्वार्ता सङ्ग्रहित गरिएको छ ।

तस्बिरः सविन धमला, न्युज एजेन्सी नेपाल ।

26.5¡ÆC