विदुर । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ ।

आयोगले दुई दल २०७५ सालको जेठ ३ गते अघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ । यस्तै, निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते केपी शर्मा ओली र प्रचण्डको नाममा दर्ता भएको नेकपा खारेज गर्ने पनि आयोगले निर्णय गरेको छ । अब एमाले र माओवादी केन्द्र नै रहने र उनीहरूको चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा हुने आयोगले जनाएको छ ।

आयोगले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएको जानकारी सङ्घीय संसद् सचिवालय, सबै प्रदेश सभा र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने भएको छ । यस्तै, अब ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र फेरि एक हुन चाहेमा केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरेर एकीकृत दलको नाम र चुनाव चिह्नसहित १५ दिनभित्र निवेदन सहित उपस्थित हुन पनि आयोगले जानकारी गराएको छ।

अब गोपाल किराँतीको नाममा दर्ता भएको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले खारेज हुने र उनीहरूले नयाँ दल दर्ता गर्न चाहेमा दलको नाम र चुनाव चिह्न सहित सम्पर्क गर्न सक्ने आयोगले जनाएको छ ।

25.12¡ÆC