काठमाडौ । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको छ। नेपालको जितमा दुवै गोल अन्जन बिष्टले गरे।

खेलको तेस्रो मिनेटमा नै अन्जनको गोलले अग्रता बनाएको नेपालका लागि उनैले ६३ औँ मिनेटमा अर्को गोल गरेका थिए। ताइपेइ एथ्लेटिक स्टेडियममा ४–५–१ को फर्मेसनमा मैदान उत्रिएको नेपालले सुरुवाती अग्रता जोगाउँदै सम्हालिएको खेल देखायो।

फिफा वरियतामा १६६ औँ स्थानमा रहेको नेपालले १२५ औँ स्थानको चाइनिज ताइपेइलाई हराएर महत्वपूर्ण ३ अंक जोडेको छ। विश्वकप छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।

यसअघि नेपालले ताइपेइसँग गएको जेठमा खेलेको मैत्रीपूर्ण खेल एक एक को बराबरीमा सकिएको थियो। कुवेतसँगको लज्जास्पद हारपछि आफूहरु सम्हालिएर खेल्ने योजनामा रहेको नेपाली टिमका प्रशिक्षक योहान कालिनले बताएका थिए। उनको योजनाअनुसार नै नेपालको खेल देखिएको छ। कालिन प्रशिक्षक बनेपछि यो नेपालको पहिलो जित हो।

फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।

दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।

यसपटक नेपाली टिमको नियमित कप्तान विराज महर्जन टिममा नपरेपछि नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरिरहेका छन्। यसअघि मलेसियन लिग विजेता क्लब जोहार दारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेलमा किरण नरहेकाले नेपाली टोलीको कप्तानमा सुजल श्रेष्ठ रहेका थिए।

विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् । विश्वकप छनोटमा नेपालले असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।

यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।

17.12¡ÆC