काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।

बुधबार दिउँसो चार बजेपछि शितल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको सपथ लिए। सपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरे।

भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्। २०७४ फागुन ३ गते गठन भएको केपी शर्मा ओली क्याबिनेटमा उनीमात्र यस्ता मन्त्री हुन् जसले एक्लै सपथ खाए, त्यो पनि सरकार गठन भएको १७ महिनापछि।

संयोग कस्तो पर्यो भने प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरूसँग आगामी वर्ष के-के काम गर्ने भनेर कार्यसम्पादन सम्झौता गरेकै दिन योगेश मन्त्री बनेका छन्।

योगेशसँग आजै एक वर्षभित्र गर्ने कामको सूची छैन तर रवीन्द्र अधिकारी मन्त्री हुँदा देखेका सपना र सुरू गरेका कामको भने चाङ छ। अधिकारीले बाँकी चार वर्षका लागि बनाएका योजना पनि मन्त्रालयमै थन्किएका छन्।

गत फागुन १५ गते योगेशको गृहजिल्ला ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा रवीन्द्रको निधन भएपछि उनले गर्न खोजेका धेरै काम थाती छन्। झन्डै चार दशकसँगै राजनीति गरेका रवीन्द्रका ती काम पूरा गर्ने जिम्मा अब योगेशको काँधमा आएको छ।

रवीन्द्रभन्दा योगेश चार वर्ष जेठा हुन्।

यी दुबै नेताको राजनीतिक यात्रा २०३७/०३८ सालदेखि सुरू भयो।

स्कुले जीवनबाटै राजनीति थालेका योगेश र रवीन्द्र स्वभावका हिसाबले पनि उस्तै उस्तै नै थिए, जाँगरिला अनि सबैसँग घुलमिल हुन सक्ने।

बीस २०५४ सालमा एमाले फुटेर माले हुँदा यी दुबै विद्यार्थी नेता तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनमा महत्वपूर्ण जिम्मेवारीमा रहे। त्यतिखेर योगेश अध्यक्ष र रवीन्द्र महासचिव थिए।

एमाले र माले एकीकरण भइसकेपछि पनि लामो समयसम्म यी दुई नेता सँगसँगै अघि बढे।

२०६४ को संविधानसभा चुनावमा दुबैले टिकट पाए।

गृहजिल्ला कास्कीबाट चुनाव उठेका रवीन्द्रले चुनाव जिते। काठमाडौं-६मा चुनाव लडेका योगेश भने २०६४ र २०७० सालका दुबै चुनावमा पराजित भए।

२०७४ को प्रतिनिधिसभा चुनावमा योगेश गृहजिल्ला ताप्लेजुङबाट चुनाव जितेर पहिलो पटक संसद भवन छिर्दा अधिकारी तेस्रो पटक सांसद चुनिएका थिए।

पार्टी पंक्ति र जनस्तरमा पनि यी दुबै नेताको लोकप्रियताको ग्राफ बढिरहेको थियो।

कुनै बेला एउटै संगठनमा काम गरेका यी दुई नेता २०७४ मा आइपुग्दा शक्ति सन्तुलनले फरक-फरक गुटमा पुगिसकेका थिए।

योगेश वामदेव गौतमको खेमाबाट अलग्गिएर माधवकुमार नेपाल क्याम्पमा पुगेका थिए भने रवीन्द्र केपी ओली पक्षधर भइसकेका थिए।

विद्यार्थी राजनीतिमा योगेशलाई पछ्याएका रवीन्द्रले मन्त्री बन्दा भने उनलाई उछिने। योगेश भन्दा पहिला मन्त्री बनेर सिंहदरबार गए।

हँसिला र छरिता रवीन्द्रले पर्यटन मन्त्रालयलाई आफूजस्तै सक्रिय बनाए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुधारदेखि वायु सेवा निगमका दुई वाइड बडी जहाज (एयर बस ३३०) ल्याउनमा भूमिका खेले। विभिन्न विमानस्थलमा रात्रीकालीन उडान सुरू गरे।

फागुन १५ गते अकल्पनीय दुर्घटनामा परी रवीन्द्रको निधन भयो। प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालय आफैंसँग राखे। पाँच महिनापछि ओलीले त्यो जिम्मेवारी योगेशलाई दिएका छन्।

पदभार ग्रहण गर्दामात्र होइन दिनदिनै कार्यालय जाँदा पनि योगेशले लामो समय राजनीतिक सहयात्रा गर्दागर्दै आधी बाटोमै अकल्पनीय रूपमै गुमाउनु परेको साथी सम्झेलान्, भावुक पनि होलान्।

तर योगेशलाई साथीको सम्झनामा भावुक बनिरहने छुट भने छैन।

महत्वकांक्षी ‘नेपाल भ्रमण वर्ष २०२०’ नजिकिँदै गर्दा रवीन्द्रले सुरू गरेका, गर्न खोजेका कामलाई योगेशले रफ्तारमा अघि बढाउनु पर्नेछ।

राष्ट्रिय गौरवका आयोजनाहरू; गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति अहिले सुस्त छ।

नेपाल वायु सेवा निगमले नयाँ जहाज ल्याएको छ तर तिनलाई उडाउने नयाँ गन्तव्य फेला पार्न सकेको छैन।

भूकम्पबाट क्षतिग्रस्त महत्वपूर्ण सांस्कृतिक एवं पुरातात्विक सम्पदाको पुननिर्माणलाई पनि योगेशले प्राथमिकतामा राख्नु पर्नेछ।

नयाँ पर्यटकीय गन्तव्य विस्तारका लागि देशभरि सय नयाँ गन्तव्यको पहिचान गरी पूर्वाधार विकास भइरहेका छन्। योगेशले यसमा पनि जोड दिनु पर्नेछ।

योगेशसँग एकातिर आफ्ना मित्रका अधुरा सपना पूरा गर्नु पर्ने जिम्मा छ भने अर्कातिर मन्त्रीको रूपमा नयाँ पहिचान बनाउने चुनौती पनि।

किनकी पार्टीभित्र र बाहिर पनि योगेशसँग धेरैले अपेक्षा गरेका छन्। मन्त्रीका रूपमा योगेश कस्तो काम गर्छन् भन्नेले उनले राजनीतिमा कुन उचाइ लिन सक्छन् भन्ने तय गर्नेछ।

23.12¡ÆC