काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले एक वर्षमा 'समृद्ध नेपाल सुखी नेपाली' नारालाई साकार रुप दिने आधार तयार गरेको बताएका छन्। आफ्नै पार्टी नेतृत्वको सरकारलाई धन्यवाद दिनु औपचारिकता जस्तो हुने भन्दै उनले सरकारका कामको प्रशंसा गरे।

सरकारकाे नितीत तथा कार्यक्रमका सम्बन्धमा आफ्ना धारणा राख्दै आजकाे संसद बैठकमा उनले भने, ‘यो एक वर्षमा सरकारले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्ने प्रयास गरेको छ।'

अध्यक्ष प्रचण्डले संविधानमा उल्लेख भएका मौलिक हकसँग सम्बन्धित ऐनहरु समयमै निर्माण गरेर संवैधानिक संकट टारेको दाबी गरे। ‘असाेज ३ भित्र ती ऐन निर्माण गर्न नसकेको भए संवैधानिक बहस सुरु हुन सक्थ्यो। तर, सरकारले समयमै निर्माण गर्यो। यो कामका लागि धन्यवाद।’

यसबीचमा परराष्ट्र सम्बन्ध सन्तुलित बनाउने र छिमेकसँगको सम्बन्ध देशको हितअनुसार अघि बढाउने प्रयास भएकाे उनले जिकिर गरे।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा र त्यसमाथि बहस गर्दा परिपक्वता देखेको भन्दै सरकार र विपक्षी दलप्रति पनि उनले आभार प्रकट गरे। ‘मैले नयाँ अनुभूति र महशुस गरेको छु। गत साल संविधान बनेर त्यस अन्तर्गतको निर्वाचन भएपछिको पहिलो नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा सत्तापक्षको तयारी स्तर र प्रतिपक्षको प्रतिवादको स्तर कमजोर थियो। यसपल्ट दुबै व्यवस्थित रुपमा प्रस्तुत भएको देखेको छु।’

सरकारले नीति तथा कार्यक्रममा एक वर्षका अनुभवसहित त्यसलाई आफ्नो तर्फबाट सकेको व्यवस्थित गर्न प्रयास गरेको प्रचण्डकाे भनाइ थियाे। उनले जनताको चाहना र भावनालाई सम्बोधन गर्ने अधिकतम कोशिस भएको पनि उल्लेख गरे।

प्रतिपक्षले पनि राम्रो तयारी गरेर लिखित रुपमा आफ्ना धारणा प्रस्तुत गरेर बहसको नयाँ स्तर दिने कोशिस भएको भन्दै उनले प्रशंसा गरे।

वर्तमान शासन प्रणालीको स्वभाव नै विवाद र बहस गर्ने भएकाले यसले नयाँ गति दिने प्रचण्डकाे भनाइ थियाे। यसबीचमा उनले वर्तमान शासन प्रणालीका कमजोरी समेत औंल्याएका थिए। ‘सत्ता पक्षले राम्रै कुरा गरेपनि विरोध गर्नुपर्ने बाध्यता छ। प्रतिपक्षीले राम्रै सुझाव दिए पनि इग्नोर गर्नुपर्ने बाध्यता छ’, उनले सन्देह व्यक्त गरे, ‘यसले कतै नकारात्मक सन्देश त दिँदैन?

19.12¡ÆC