काठमाडौं । प्रदेश नम्बर ३ नेकपा एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार ललितपुरस्थित सिद्धिलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचनबाट ३४ मत ल्याएर पौडेल संसदीय दलको नेता चयन भएका हुन् । निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यलाई हराउँदै प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खोलेका हुन्। संसदीय दलको नेता बन्न पौडेलले ३४ मत ल्याउँदा शाक्यले २४ मत प्राप्त गरिन्।

काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा वि.सं. २००२ साल चैत १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो । मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक बी.ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए । नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन्।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर समेत काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।

19.12¡ÆC