प्रचण्ड भन्छन-‘सरकार गठन अघि नै एकता’

पुस १५, २०७४ मा प्रकाशित | 702 views

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास भइरहेको बताउनु भएको छ।
शनिबार दिउँसो सिन्धुली जिल्लाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “मैले धेरैपटक भनिसकेको छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पछाडि फर्कने पुल भत्काइसकेका छौं। हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो। नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्गाउने प्रयास गरेका छौं, अब छिटै पार्टी एकता हुन्छ।”
“बाम गठबन्धनलाई जनताले अत्याधिक मतले जिताएका छन्। यो हाम्रा लागि अवसर मात्र होइन, चुनौति पनि हो” प्रचण्डले भन्नुभयो, “जनताले हामीबाट धेरै नै आशा राखेका छन्, अब पनि अस्थिरता, अब पनि भ्रष्टाचार, अब पनि झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ रहँदैन। यो शान्ति, सुशासन र समृद्धिका लागि जनताले दिएको ठूलो मौका हो, यसलाई हामीले कुनै हालतमा चुक्न दिने छैनौं।”
शनिबार दिउँसो नै एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तकको बिमोचन गर्दै अध्यक्ष प्रचण्डले जनताको जनादेश बामपन्थीका लागि अग्निपरीक्षा भएको बताउनु भयो। प्रचण्डले भन्नुभयो, “जनताले हामीलाई विश्वास गरेका छन्। अबको बहस विकासको बहस हो, समृद्धिको बहस हो, विकास र समृद्धिमा गुणात्मक छलाङ् जरुरी छ, त्यसका लागि बामदेवजीको पुस्तकले महत्वपूर्ण प्रेरणा दिनेछ।”
“हामी सफल भए देशको विकासको नयाँ युगतिर जान्छ। ५० वर्षअघि हाम्रै हाराहारीमा रहेका सिङ्गापुर, कोरिया र मलेसिया आज विकासको नयाँ युगमा छन्” प्रचण्डले भन्नुभयो, “हामी पनि विकासको नयाँ युगमा प्रवेश गर्दैछौं। त्यसका लागि शान्ति, सुशासन र समृद्धिको बलियो संकल्प चाहिन्छ। अब हाम्रो सम्पूर्ण ध्यान त्यही दिशातिर केन्द्रित हुनुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web