काठमाडौं ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपालिकाको स्वतन्त्रताको मूल्य र मान्यताको सम्बद्र्धनका लागि न्यायिक अभ्यासलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
न्याय परिषदको २७ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले जस्तो सुकै परिस्थितिमा पनि न्याय परिषद आफ्नो संवैधानिक दायित्व नीरपेक्ष र वस्तुनिष्ठ ढंगले निर्वाह गर्न विमुख नहुने उल्लेख गर्नुभयो ।
परिषदका अध्यक्ष समेत रहुन भएका प्रधानन्यायाधीश पराजुलीले न्याय प्रशासनलाई प्रभावकारी बनाउन लागू गरिएको न्यायिक सुधारका ३९ बुदे मार्गचित्रका आधारमा समान प्रकृतिका मुद्दाको एक साथ सुनुवाई गर्ने, अतिरिक्त समयमा इजलास सञ्चालन गर्र्ने र सूचना प्रविधिको प्रयोग मार्फत न्यायपालिकाको कामलाई प्रभावकारी बनाउने नविनतम व्यवस्थालाई संस्थागत गरिएको जानकारी दिनुभयो ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले मुलुकमा न्यायिक शुसान कायम गर्नका लागि न्यायिक अनुगमन शुरु गरिएको र जिल्ला न्यायाधीशको नियुक्ति खुल्ला प्रतियोगिताद्वारा गर्ने व्यवस्था गरिएको बताउनु भयो ।
सर्वोच्च अदालतका न्यायाधीश एवं परिषदका सदस्य दीपकराज जोशीले परिषद आफ्ना काम कारवाहीलाई थप शसक्त र प्रभावकारी बनाउन प्रयत्नशिल रहेको उल्लेख गर्नुभयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर के.सीले उच्च अदालतलाई कानूनले समेत महत्वपूर्ण जिम्मेवारी दिएकाले उच्च अदालतमा रिक्त न्यायधीशको पूर्ति तत्काल गर्नुपर्ने बताउनु भयो ।
त्यस अवसरमा प्रधानन्यायाधीश गोपाल पराजुलीले उत्कृष्ट कार्य गरेवापत उच्च अदालत इलामका न्यायाधीश प्रकाशचन्द्र गजुरेल, उच्च अदालत पाटनका न्यायाधीश निता गौतम र जिल्ला अदालत अछामका न्यायाधीश धर्मराज पौडेल र जिल्ला अदालत नवलपुरका न्यायाधीश विदुर कोइरालालाई सम्मान गर्नुभएको थियो ।
16.73¡ÆC