चितवन,मंसिर १० । बिपी पुत्र डा. शशांक कोइरालाले आफ्ना पिता जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले काँग्रेस हुने बताएका छन् । ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला बिपी, गणेशमानलगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले देशव्यापीरुपमा अहिले काँग्रेस प्रवेशको लहर आएको बताए ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका कोइराला नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन् । दैनिक सयौँको संख्यामा अन्य पार्टी परित्याग गरेर काँग्रेस प्रवेश गरेको भन्दै उनले यसले आफूलाई उत्साहित बनाएको पनि बताए ।

वाम गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने भन्दै महामन्त्री कोइरालाले भने, “उनीहरुले दुई तिहाइ पुर्याउन सक्दैनन् ।”

वाम गठबन्धनले बढी मत पाएमा आउँदा दिनमा त्यो खतरा रहेको भन्दै उनले वाम गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको बताए ।

महामन्त्री कोइरालाले कम्युनिष्टले कांग्रेसलाई यथास्थितिवादीको आरोप लगाउने गरेको उल्लेख गर्दै विश्वबाट समाप्त भइसकेको कम्युनिष्टले काँग्रेसलाई यथास्थितिवादी भन्न नसुहाउने बताए ।

उनले प्रश्न गरे, “परिवर्तन ल्याउने काँग्रेस यथास्थितिवादी हुने, विश्वबाटै समाप्त हुँदै गएको कम्युनिष्ट कसरी परिवर्तनकारी हुन्छ ?”

गरिबलाई गरिब नै राखेर कम्युनिष्टले राजनीति गरेको भन्दै महामन्त्री कोइरालाले भने, “हामी सबैलाई धनी बनाउँछौँ, त्यो समाजवादमा हुन्छ ।” राष्ट्रियता, प्रजातन्त्र र समाजवाद काँग्रेसको चिन्तन भएको भन्दै उहाँले यसले नै देशको समग्र विकास हुने बताए ।

महामन्त्री कोइरालाले भने, “शुरुमा हामी झस्किएका थियौँ, अधिराज्यभरि काँग्रेसको पकड हुँदै गएको छ, सबैभन्दा ठूलो पार्टी काँग्रेस हुन्छ ।”

स्थानीय निर्वाचनमा पार्टीभित्र केही त्रुटि रहेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढेकाले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताए ।

एक फरक प्रसंगमा महामन्त्री कोइरालाले अदृश्य शक्तिलाई चलखेल गर्न दिन नहुने बताउँदै भने,“राष्ट्र नेपालीले नै हाक्नु पर्छ ।” अब तपाइँ यो देशको प्रधानमन्त्री बन्ने सम्भावना छ भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, तर शेरबहादुरजी, रामचन्द्रजी हुनुहुन्छ, सबैको सल्लाहमा म पनि हुन सक्छु ।”रासस

22.12¡ÆC