काठमाडौं,जेठ १९ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी ९आशिष०को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बन्दै गएको प्रहरीको ठहर छ । प्रेमी अशिष चौधरीको भएको पोलिग्राफ जाँचमा चौधरीले मनिषाको हत्या नगरेको दिएको जवाफ साँचो देखिएको छ । परिवारले भने हत्या गरेको दाबी गर्दै आएका छन् ।

घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ । नवलपरासी जिल्ला प्रहरी कार्यलयका एसपी राजेन्द्र चौधरीले दिएको जानकारीमा आधारित प्रारम्भिक

अनुसन्धान रिपोर्ट यस्तो छ -

२०७३ वैशाख १३ गते बिहान साढे ६ बजे इलाका प्रहरीले घटनाको जानकारी पायो। प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरीको टोली ६ बजेर ४० मिनेटमा घटनास्थल पुग्यो। प्रहरी घटनास्थल पुग्दा मनिषाको टाउकोदेखि कम्मरसम्म पलङमा थियो भने नजिकै राखिएको टि टेवलमा उनको खुट्टा थियो। कोठामा रहेको पङ्खाको तार चुडिएको अवस्थामा थियो।

अर्को कोठामा रहेको सीसाको सोकेस फुटेको थियो। मनिषाको घाँटीमा नीलो डाम र रगत थियो। त्यसपछि प्रहरीले त्यहाँ भएका सवुत प्रमाण बटुल्यो र मुचुकल्का उठायो। त्यतिबेर सम्म मनिषाको घरपरिवार, आफन्त, साथी भाइ भरिएका थिए र शोकको वातावरण थियो।

छिमेकीसँगको सोधपुछपछि प्रहरीले घटनाको आशंकामा मनिषाका प्रेमी आशिष भनिने २२ वर्षीय रुद्रनारायण चौधरीलाई उनकै घरबाट नियन्त्रणमा लियो। उनको घरबाट प्रहरीले खरानी रंगको टिसर्ट र नजिकै रहेको पेट्रोलपम्पको नालमा लुकाएर राखिएको कालो रंग सल पनि वरामद गर्यो।

मनिषाको मृत्यु नभएर हत्या भएको आशंकामा आशिष चौधरीविरुद्ध त्यसै दिन मनिषाका काकाले ज्यान मुद्दामा जाहेरी दर्ता गराए। त्यसपछि प्रहरीले चौधरी सँग प्रारम्भिक अनुसन्धान सुरु गर्यो। जाहेरीका आधारमा जिल्ला अदालतमा ७ दिन म्याद थपिएर अनुन्धान सुरु भयो। मनिषाको शव पोस्टमार्टमका लागि राजधानीको शिक्षण अस्पताल टिचिङ पठाइयो। अस्पतालमा पोस्टमार्टम भइरहँदा प्रहरीले आशिषसँग बयान लिइरहेको थियो।

प्रहरीको अनुन्धानका क्रममा मनिषा र आशिषबीच प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धमा विवाद पछि रहस्यमय मृत्यु भएको खुल्न आएको छ। वैशाख १२ गते आशिषले पटकपटक मनिषालाई फोन सम्पर्क गरे। तर, मनिषा सम्पर्कमा आइनन्। दिनभरजसो मनिषाले फोन नउठाएपछि आजित बनेका आशिषले मनिषाकी साथी शीलुलाई फोन गरे। शिलुलाई आशिषले फोनमा 'मनिषालाई फोन उठाउ भन नत्र जे पनि हुनसक्छ' भन्ने धम्की दिए।

मनिषा र अशिषको प्रेम विवादले अझै उग्ररुप लिँदै थियो। शिलुले मनीषलाई दिएको धम्की सुनाएपछि उनले आशिषलाई फोन गरिन्। मनिषाले रातको साढे ७ बजे आफ्नै घरमा बोलाइन्। मनिषाका दाजु विमल घर्तीमगर उपचारका लागि बेल्जियम गएका थिए। आमा बुटवलमा, मनिषा एक्लै थिइन् घरमा। मनिषाले नै फोन गरेपछि आशिष नशाको सुरमा उनको घर पुगे। चौधरी प्रेमको विवाद र रक्सी दुवैमा सम्हालिने अवस्थामा थिएनन्। भेट हुनेवित्तिकै दुईबीच कुटाकुट भयो। सोकेसका सीसा उनीहरुको झगडाको निशाना बन्यो।

त्यसपछि नशाले चुर भएका आशिष त्यसै बाहिरपट्टी लडे र निदाए। त्यसको २ घण्टापछि होसमा आएर हेर्दा झगडा गरेकी मनिषा मृत अवस्थामा थिइन्। उनको घाँटीको कालो सल चौधरीले फुकाए र मुखमा स्वासप्रस्वास दिए। तर, मनिषा उठिनन्। घाँटीको सल नजिकैको पेट्रोलपम्प अगाडिको नालामा लगेर लुकाए। मृतक मनिषा र प्रेमी आशिकको मोबाइलमा १२ गतेसम्म चार दिनको कल रकर्ड हेर्दा दुईबीच २ सय १८ पटक सम्पर्क भएको देखिन्छ जसमा आशिषले १ सय १६ र मनिषाले १ सय २ पटक सम्पर्क गरेका थिए। उनीहरुबीच अन्तिम सम्पर्क भने मृत्यु हुनभन्दा करिब २ घण्टा अघि ८ बजेर ३२ मिनेटमा भएको थियो।

मनिषाको पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्युको कारण 'हेङगिङ' भन्ने छ। आत्महत्या होइन हत्या भन्ने परिवारको दावी भइरहँदा प्रहरीले अनुसन्धान झनै तीब्र बनायो। प्रहरीले आशिष चौधरीसँग लिएको बयानमा उनले पटकपटक आफुले हत्या नगरेको दावी गरे। चौधरीको बयानमा विश्वास नलागेपछि जेष्ठ १८ गते प्रहरीले पोलिग्राफ टेष्टको साहरा लियो। पोलिग्राफ टेष्टले झुट बोलेको नबोलेको तथ्य परीक्षण गर्छ। करिब ५ घण्टासम्म भएको टेष्टमा उनलाई ११ वटा प्रश्न सोधिएको थियो।

तपाईँले मनिषाको घाँटी थिचेर हत्या गरेको हो कि होइन? भन्ने प्रश्नमा उनले होइन मात्र दोहोर्याइरहे। पोलिग्राफ टेष्टले उनको बोली सत्य भएको प्रमाणित गरको छ। अनुसन्धानमा अझै मनिषाको मृत्यु चलचित्रको रहस्यमय कथा जस्तै छ। मनिषाको हत्याको अनुन्धानमा नियन्त्रणमा लिएका आशिष चौधरी हत्यारा हुन् या निर्दोष यो पनि गर्भमा नै छ। तर मनिषा अब यो संसारमा छैनन। र अझै कतिपय प्रश्नहरु अनुत्तरित नै छन् यस घटनामा। पहिलो पोष्ट डटकमले समाचार लेखेको छ ।

23.12¡ÆC