प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ । ‘यसपटकको भ्रमणमा उहाँ प्रधानमन्त्री भएर भारत जाँदा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिने उहाँको इच्छा छ’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘पञ्चेश्वर, सुदूरपश्चिममा टेक्निकल इन्स्टिच्युट स्थापनालगायतको कार्यान्वयनका विषयमा तयारी गर्न सम्बन्धित अधिकारीलाई उहाँले निर्देशन दिइसक्नुभएको छ ।’ भ्रमणमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न परराष्ट्र सचिव शंकरदास बैरागीले सरोकारवाला मन्त्रालयसँग समन्वय गरिरहेका छन् । साउन अन्तिम सातादेखि भदौ पहिलो सातामा भ्रमण हुने भनिए पनि मिति तय भइनसकेको परराष्ट्र स्रोतले बतायो ।

‘विगतका सम्झौता कार्यान्वयन र नयाँ सम्भावनाबारे प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्ने गरी तयारी भइरहेको छ, अहिले कुनै पनि विषय टुंगिएको अवस्था छैन,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नयाँ पत्रिकासँग भने । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको भ्रमण र दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा भएका छलफलमा उत्पन्न नीतिगत समस्या समाधानमा पनि यसपटकको भ्रमण केन्द्रित हुने सम्बद्ध स्रोतले बतायो । यसैगरी आसन्न प्रान्त र केन्द्रिय संसदको निर्वाचनका लागि पनि भारतको सहयोगका लागि देउवाले आग्रह गर्ने बुझिएको छ ।

प्रधानमन्त्रीका रुपमा देउवाले यसअघि तीनपटक भारत भ्रमण गरेका थिए । तीसबै भ्रमण औपचारिक थिए भने यसपटक उनको भ्रमण राजकीय हुने परराष्ट्र स्रोतले बतायो । पछिल्लोपटक केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजकीय भ्रमण भएको थियो । देउवालाई पनि भारतले राजकीय भ्रमणमा बोलाएको छ । चौथोपटक प्रधानमन्त्री भएका देउवाको प्रधानमन्त्रीका हैसियतमा यो चौथो भारत भ्रमण हो ।

यस्ता थिए देउवाका विगतका भ्रमण

पहिलो : माओवादीको सशस्त्र युद्ध घोषणा
पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सातदिने औपचारिक भ्रमण गरेका थिए । त्यसवेला प्रधानमन्त्री देउवा भारतमा रहेकै वेला माओवादीले १ फागुनमा रोल्पा, रुकुम, सिन्धुली र गोर्खामा आक्रमण गरेर सशस्त्र युद्ध घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे संयुक्त समझदारीपत्र भएको थियो । त्यसअघि भएको महाकाली सन्धिको शीघ्र कार्यान्वयन र परियोजनामा निजी लगानीसमेत आकर्षित गर्ने सहमति भएको थियो । महाकाली सन्धिको २२ वर्षपछि दिल्ली जाँदै गरेका देउवाले सन्धि कार्यान्वयनलाई जोड दिने तयारी गरेका छन् ।

दोस्रो : माओवादीलाई आतंककारी घोषणा
दोस्रोपटक प्रधानमन्त्री हुँदा देउवा ०५८ चैत ७ देखि ११ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निमन्त्रणामा भएको भ्रमणमा माओवादीविद्धको लडाइँमा देउवाले भारतसँग सहयोगको प्रस्ताव गरेका थिए । त्यसवेला माओवादीलाई सरकारले आतंककारी घोषणा गरेको थियो भने नेपालमा संकटकालको अवस्था थियो । भारतले पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति त्यतिवेलै गरेको थियो । त्यसवेला महाकाली सन्धिको कार्यान्वयनलाई दुवै सरकारले उच्च प्राथमिकतामा राखेको संयुक्त वक्तव्यमा उल्लेख थियो ।

तेस्रो : माओवादीविरुद्ध सहयोगको माग
एमाले र कांग्रेस प्रजातान्त्रिकको संयुक्त सरकार गठनपछि देउवाले प्रधानमन्त्रीका रूपमा ०६१ भदौ २३ देखि २७ सम्म भारत भ्रमण गरेका थिए । प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा भएको भ्रमणका वेला २५ बुँदे संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसवेला देउवाले माओवादीविरुद्धको सरकारी लडाइँमा सहयोगका लागि आग्रह गरेका थिए । भारतीय तत्कालीन प्रधानमन्त्री सिंहले सहयोगको वचन दिएका थिए । त्यसवेला भारतले प्रहरीसहित सुरक्षाफौजलाई मद्दत गर्ने वचन दिएको थियो ।

चौथो : माओवादी परराष्ट्र मन्त्रीसँगै भ्रमणमा
संयोगले देउवाको यसपालिको भारत भ्रमणमा साथमा परराष्ट्रमन्त्रीका रूपमा माओवादी नेता कृष्णबहादुर महरा साथमा हुनेछन् ।

22.33¡ÆC