भक्तपुर ।

बिरामीको मृत्यु भएपछि सोही विषयलाई लिएर आज भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तोडफोड भएको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३२ वर्षकी उषा बस्नेतको उपचारको क्रममा गए राति मृत्यु भएको थियो ।

मृतकका आफन्तले घुम्न निस्किँदा पेट दुखेर स्वास्थ्य परीक्षण गर्न गएकोमा बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएका छन् ।

लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ । आफन्तले मृतकको शव बुझ्न नमानेको र पीडित पक्षका आफन्त भेला भएपछि दिउँसो अस्पतालमा तोडफोड भएको थियो ।

यता अस्पतालको पक्षबाट कुनै लापरबाही नभएको दाबी अस्पताल प्रशासनले गरेको छ ।

अस्पतालका निर्देशक सुरेश श्रेष्ठले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनुभयो । अस्पताल प्रशासन र बिरामीका आफन्तबीच समयमै सहमति जुट्न नसक्दा अस्पतालमा तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी), ओपिडि, नगद काउन्टर, नर्सिङ स्टेसन, क्यान्टिनको सिसा तोडफोड गर्नुका साथै हाजिरी मेसिन, भिजिटर बेञ्च र कम्प्युटर तोडफोड गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँले इमरेजन्सी र ओपिडीमा रहेका बिरामीमा केहि बेर भागदौड मच्चिएको थियो भन्नुभयो ।

मृतकको शब अझै अस्पतालमै छ भने दुई पक्षबीचको वार्ता अझै सहमतिमा पुग्न सकेको छैन ।

लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षको माग यथावत छ भने अस्पतालले प्रशासनले भने तोडफोड गर्नेलाई कारवाही गर्नुपर्ने र तोडफोडबाट भएको क्षतिपुर्ति माग गरेको छ ।प्रहरीले प्रहरीमाथि हातपात गर्ने र तोडफोडमा संलग्न भएको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको मृतकका आफन्तले बताएका छन् ।

20.98¡ÆC