काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार छनोट गर्न दिनहुँजस्तो बैठक गर्दै आए पनि अझै धेरै ठाउँको उम्मेदवारी टुंग्याउन सकेको छैन । २ नम्बर प्रदेश पूरै, ५ प्रदेशका सहरी क्षेत्र र १ नम्बर प्रदेशका मोरङसहितका क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंग्याउन नसकेको हो ।

विराटनगरबारे छलफल नै सुरु भएको छैन
मोरङको विराटनगर महानगरपालिका प्रमुखका लागि अमृत अर्याल, डा. डिला संग्रौला र भीम पराजुलीबीच लडाइँ छ । पार्टी केन्द्र यीमध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा प्रवेश नै गरेको छैन । दुर्गम र पहाडी क्षेत्रमा मात्र केन्द्रित भएपछि सहरी र विवादित क्षेत्रमा कांग्रेस प्रवेश नै नगरेको हो । सुनसरीका सबै तहमा उम्मेदवार टुंग्याए पनि रामचन्द्र पौडेल पक्ष र संस्थापनका असन्तुष्टले असन्तुष्टि जनाइरहेका छन् ।

२ नम्बरमा छलफल नै सुरु भएन
सप्तरीदेखि पर्सासम्मका जिल्लामा उम्मेदवारी चयन गर्न कांग्रेसले छलफल नै गरेको छैन । पहिले अन्यत्र केन्द्रित भएपछि यी ठाउँमा प्रवेश नै नगरेको कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल बताउँछन् । अबको दुई–तीन दिनभित्रमा उम्मेदवारी टुंग्याउने तयारी भएको उनले बताए । सकेसम्म स्थानीय तहमा उम्मेदवार मिलाउने प्रयास भए पनि मिल्दै नमिले मात्र केन्द्रमा पठाउउने गरेको उनको भनाइ छ ।

वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिका प्रमुखमा कांग्रेसबाट अजय द्विवेदी, श्याम पोखरेल, राकेश सिंह, ओमप्रकाश शर्मा चर्चामा छन् । यिनैमध्येबाट उम्मेदवार तय गरिने कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । उपमेयरमा शान्ति कार्की, गीता श्रेष्ठ, कल्पना प्याकुरेल चर्चामा छन् । दाङ र बाँकेका उपमहानगर तथा नगरमा अझै उम्मेदारको टुंगो लागेको छैन । रूपन्देही, नवलपरासीमा पनि कांग्रेसले सबै उम्मेदवार टुंग्याउन सकेको छैन । ‘लगभग ९० प्रतिशत टुंग्याइएको छ, तर १० प्रतिशत बाँकी छ,’ कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ पत्रिकासँग भने, ‘अब ५ र १ सकाएर बाँकी २ नम्बरको केही दिनमै टुंग्याउन नेताहरू जुट्नुभएको छ ।’

प्रदेश १ र ७ मा भने कांग्रेसले लगभग उम्मेदवार टुंग्याइसकेको दाबी गरेको छ । पछिल्ला केही दिनदेखि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिका नेताहरू उम्मेदवारी टुंग्याउन नियमित बैठकमा बस्दै आएका छन् । शनिबार बिहान पनि केन्द्रीय कार्यालय सानेपामा पुनः बैठक बस्दै छ ।

तालमेलको तयारीमा कांग्रेस
कांग्रेसले दोस्रो चरणको निर्वाचनमा पनि तालमेल गर्ने तयारी छ । केन्द्रको नीतिअनुसार भन्दा पनि स्थानीय आवश्यकताका आधारमा यसअघि जस्तै माओवादी केन्द्रसँग तालमेल हुने कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि बताउँछन् । ‘हामी केन्द्रबाट होइन, स्थानीय आवश्यकताका आधारमा तालमेल गर्छौँ,’ निधि भन्छन्, ‘माओवादीसँग खासगरी पहाडी क्षेत्रमा तालमेल हुन्छ ।’

एमालेले बोलायो बैठक

एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार टुंगिन बाँकी रहेका महानगरपालिका र उपमहानगरपालिकाको नामका विषयमा शनिबार छलफल गर्ने भएको छ । विराटनगर र वीरगन्ज महानगरपालिकासहित टुंगिन बाँकी पाँच उपमहानगरपालिकामा पार्टीले उठाउने उम्मेदवारबारे निर्णय गर्न एमालेले शनिबार स्थायी समिति बैठक बोलाएको छ ।

चार प्रदेशका उपमहानगर, नगरपालिका र गाउँपालिकाका अधिकांश उम्मेदवार टुंगो लागिसके पनि विराटनगर र वीरगन्जबाहेक जनकपुर, धरान, इटहरी, कलैया र सिमरा नगरपालिकामा एमालेले उम्मेदवारहरूको टुंगो लगाइसकेको छैन । ‘उम्मेदवार टुंग्याउन बाँकी रहेका महानगरपालिका र उपमहानगरपालिकाका विषयमा शनिबार स्थायी समितिमा छलफल गर्दै छौँ,’ सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने ।

विराटनगर
विराटनगर महानगरपालिकाको मेयरमा एमालेबाट जिल्ला अध्यक्ष विनोद ढकाल र पूर्वअध्यक्ष महेश रेग्मी मुख्य दाबेदार छन् । ढकाल संस्थापन र रेग्मी नेपालनिकट हुन् । पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितको नाम पनि चर्चा रहे पनि उनले आफू अनिच्छुक रहेको जनाएका छन् । त्यस्तै, उपमेयरमा भने स्थानीयस्तरमा फोरम लोकतान्त्रिक नेपालसँग तालमेलका लागि एमालेले छलफल चलाइरहेको छ ।

वीरगन्ज
वीरगन्ज महानगरपालिको मेयरमा पूर्वजिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य, सुन्दर कुर्मी र मनोज चौधरीको नाम प्रदेश कमिटीमा सिफारिस भएको छ । उनीहरूबाहेक अन्य पार्टीबाट लोकप्रिय व्यक्तित्वलाई पार्टीमा प्रवेश गराएर टिकट दिने विषयमा पनि केन्द्रीय नेतृत्वले छलफल चलाइरहेको स्रोतले जनाएको छ । त्यस्तै, उपमेयरमा अरबिन्द सिंह, विना शर्मा र प्रेमा पौडेलको नाम सिफारिस भएको छ ।
जनकपुर
जनकपुर उपमहानगरपालिकामा स्थानीय कमिटीले दीपेन्द्र यादव (दिपु), अमरनाथ यादव, सुद्धोधन यादवलाई मेयर तथा पुनम मिश्र र निर्मलादेवी कर्णलाई उपमेयरका रूपमा अघि सारेको छ । पूर्वमन्त्री रघुवीर महासेठ र केन्द्रीय सदस्य शत्रुधन महतो, श्रीप्रसाद साहलगायतका नेताहरूबीच उम्मेदवारी टुंग्याउने विषयमा मत बाझिएको छ ।

माओवादी केन्द्रले धेरै तहमा टुंगो लगायो

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन हुन बाँकी मुख्य सहरहरूमा पार्टीका उम्मेदवारहरू करिब टुंगो लगाएको छ । विराटनगर महानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, घोराही, तुलसीपुर उपमहानगरपालिकाजस्ता मुख्य सहरहरूमा उसले उम्मेदवार छनोट गरिसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा माओवादीले दामोदर आचार्यलाई मेयर र कलामुन अन्सारीलाई उपमेयरका रूपमा अगाडि सारिसकेको छ । घोराही उपमहानगरपािलकामा माओवादीले पोलिटब्युरो सदस्य जीवन गौतमलाई मेयर, सीता चौधरीलाई उपमेयरको टिकट दिएको छ । तुलसीपुर उपमहानगरपालिकामा शेषुराम भण्डारीलाई मेयर र मनकला थारूलाई उपमेयरका रूपमा अगाडि सारेको छ । विराटनगर महानगरपालिकामा भोगेन्द्र शर्मालाई मेयरका रूपमा अगाडि सारिसकेको छ ।

वीरगन्ज, बुटवल र जनकपुरमा बाँकी
माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा भने उम्मेदवार छनोट गर्न बाँकी छ । स्थानीय तालमेलको सम्भावना र उम्मेदवारको सम्भावनाका विषयमा छलफल बाँकी नै रहेकाले उम्मेदवार छनोटमा ढिलाइ भएको माओवादीले जनाएको छ ।

वीरगन्ज महानगरमा माओवादीले बसुरधिन अन्सारीलाई मेयरका रूपमा अगाडि सार्ने सम्भावना छ । उता, बुटवलमा भने कांग्रेससँगको तालमेलको सम्भावना बढेको भन्दै कांग्रेससँग चुनावी तालमेलको छलफल चलाएको छ । कांग्रेसलाई मेयर र माओवादीलाई उपमेयर लिने गरी तालमेलको कसरत भइरहेको माओवादी नेताहरूले बताएका छन् ।

29.12¡ÆC