धेरै हास्नुहोला प्रचण्ड ज्यु, रोइदिने त हामी छँदैछौ ! (मर्मस्पर्शी भिडियो)

Posted on: February 17, 2017 | views: 1203

लेलीन बन्जाडेको शब्दमा शुबास शर्माको आवाज

तपाईं हाँस्नुस्, रोइदिने हामी छौं

(अ)प्रिय प्रधानमन्त्रीज्यू !

भन्नेले भन्छन्–– नाममा के छ र !

नाममा सबथोक छ । तपाईंका ३ वटा नाममा पनि सबथोक छ ।

गाउँतिर तपाईंलाई 'छविलाल' भन्छन् । तपाईंको नाममा हजारौं नेपालीको 'लाल' रगतको 'छवि' पोतिएको छ । मर्नेहरू त मरेर गए, बाँच्नेहरूको अनुहारबाट तपाईंको त्यो छवि कहिल्यै मेटिएन ।

गाउँबाट जंगल छिर्नुअघि मान्छेले तपाईंलाई 'पुष्पकमल' भनेर चिने । मैले देखेको छैन तर मान्छेहरू भन्छन्- कमल हिलोमा फुल्छ । तपाईं हिलोमा फुलेर हिलोमै मुर्झाउनुभो । हिलोमै अस्ताउनुभो ।

जंगल छिरेर तपाईं 'प्रचण्ड' बन्नुभो । 'प्रचण्ड' शब्दका अर्थ अनेक छन् । शब्दकोश भन्छ–– प्रचण्ड भनेको अत्यन्त उग्रता, तीव्रता, अत्यधिक गर्मी, भीषण, कठिन, कठोर, असह्य, भारी आदि हो ।

यसको सामान्य अर्थ हो–– तपाईं उग्र हुनुहुन्छ । तपाईंको मन कठोर छ । तपाईंको बोलीवचन सुन्दा मलाई असह्य हुन्छ । तपाईंले भीषण युद्ध लडेर हामीलाई दशकौं पछि पारिदिनुभयो । इच्छाशक्तिले नथेग्ने भारी बोकेर तपाईं बेलाबेला बर्बराइरहनुहुन्छ । तपाईंको नरसंहारले मुलुकलाई प्रचण्ड रापमा धकेल्यो ।

नाममा सबथोक हुन्छ ।

त्यसैले मेरो आँखामा तपाईंको छवि त्यति सुन्दर छैन । भलै तपाईं मजस्ता लाखौंको अनुहारमा समृद्धिको छवि कोर्न हिँडेको भन्नुहुन्थ्यो ।

तर, मलाई तपाईंको नाममा उति साह्रो रुचि र चासो छैन । मलाई तपाईंको काममा चासो छ । मलाई मात्रै होइन, तिनै लाखौंको चासो छ– जसको अनुहारमा समृद्धिको छवि कोर्न तपाईंले हामीजस्तै हजारौंको छातीमा गोली, भाला र खुकुरीको बीउ रोप्नुभयो । भन्न त तपाईं त्यसलाई 'क्रान्ति' भनेर अर्थ्याउन खोज्नुहुन्छ । अनि म बेलाबेला हाँस्छु । हाँस्नु मानसिक स्वास्थ्यका लागि हितकर हो ।

हाँसेर मानसिक स्वास्थ्य ठीक होला/नहोला, त्यो पनि मेरो चासोको विषय होइन । मैले अचेल हाँस्न बिर्सिएको छु । हाँस्न खोज्दाखोज्दै काँस्छु र काँस्दाकाँस्दै भावन्नै भएर २ गिलास पानी खान्छु ।

त्यो पानी खाँदा म तपाईंलाई सम्झिन्छु ।

राति ११:२१ बजे तपाईंलाई यो चिठी लेखिरहँदा पल्लो घरकाले सुन्ने गरी म ख्वाङख्वाङ गर्दैछु । घर-अस्पताल-घरको धपेडीले श्रीमती ज्वरो आएर सुतेकी छ । उसलाई पानीपट्टी लगाउन छाडेर म तपाईंलाई सम्झिन्छु । मेलम्चीको पानी आउला र शरीरको यो धूलो पखालेर लैजाला ! यस्तै आशाले त बाँच्न सिकाएको छ ।

तर छाड्दिनुस् । यो तपाईंको चासोको विषय होइन । तपाईंको चासो अरुतिरै छ । त्यो 'अरुतिरै'को चासोले हामीप्रतिको चासो कता मुर्झायो कता !

तपाईंप्रति मेरो सम्मान छैन । सम्मान नहुनेहरूलाई म तपाईं भनेर सम्मान गर्न सक्दिनँ । तर, तपाईं देशको प्रधानमन्त्री हुनुहुन्छ । म मर्यादा नाघ्न सक्दिनँ ।

० ० ०

प्रचण्डज्यू ! तपाईंलाई प्रधानमन्त्री मानेर स्वीकार गर्नु मेरो बाध्यता हो । संसदीय प्रणालीको यही विद्रुप रूपले मलाई हम्मेसि खल्बल्याउँछ । तर, म तपाईंजस्तै बन्दुक भिरेर मान्छे मार्दै हिँड्दिनँ ।

किनकि, म मान्छे हुँ ।

तपाईं मैले चुनेको व्यक्ति होइन । तपाईंलाई सिरहाको क्षेत्र नं. ५ का मान्छेले बल्लबल्ल चुनेर पठाएका हुन् । कतिले भन्छन्– कीर्तिपुरको चुनावी लडाइँमा भुइँमा पछारिएपछि तपाईंलाई उठाएर सीधा बनाउन सिरहामा जिताइयो । त्यसैले तपाईं सिरहा- ५ को मात्रै प्रधानमन्त्री हो ।

र, पनि तपाईंले बाँकी २३९ क्षेत्रका मान्छेलाई शासन गरिरहनुभएको छ ।

हाम्रो विडम्बना के भने हामीले आफ्नै नेता बनाएर पठाउन सक्दैनौं । तपाईंहरूले टीका लगाएर टिकट दिनुहुन्छ, अनि हामी तिनै टीकेहरूलाई चुन्नुपर्ने परिबन्धमा बाँधिन्छौं । तपाईंहरू अनेकको कृपामा टिकट पाउने उम्मेदवारहरू गधा नै किन नहोऊन्– हामीले मत हालेर तिनै गधालाई जिताउनुपर्छ ।

तर, समस्या के भने– गधालाई धोएर गाई बनाउन सकिँदैन । पटक-पटक चुनावले धुँदा पनि हाम्रो देशका सबै दलहरू गधाको गधा नै रहिरहे, गाई बन्न सकेनन् ।

मेरो वश चल्थ्यो भने राष्ट्रिय जनावर गधा राख्थें, दशकौंदेखि उनैले देश चलाइरहेका छन् !

[यसबाट समस्त गधा प्रजातिले खेप्नुपरेको बेइज्जतिप्रति क्षमायाचना गर्दछु]

म चाहन्छु, मेरो मतले चुनिएको मेरो प्रधानमन्त्रीले शिर उठाएर मलाई शासन गरोस् !

म चाहन्छु, मेरो प्रधानमन्त्री मलाई शासन नगरोस्, मेरो साथी बनेर मेरो सुख-दु:ख बाँडोस् !

तपाईंका सवा ३ करोड साथीले भोगेको पीडा, बेथिति र दु:ख देख्दा म सधैं तपाईंलाई सम्झिन्छु ।

तपाईंहरूले प्रतिपादन गर्नुभएको भागबण्डे संसदीय प्रणालीको घिनलाग्दो खेलले हामीलाई सधैं प्रचण्ड तापमात्रै दियो, प्रकाश दिएन । तपाईंका त आफ्नै प्रकाश छन् । व्यवस्था यस्तै रहिरहे भोलिका प्रधानमन्त्री उनै हुन् ! किनकि नेपाल भन्ने देशको प्रधानमन्त्री बन्न चुनाव जितिराख्नु पर्दैन ! तपाईंहरू जस्ता केही मनकारीहरूको कृपा भए पुग्छ । अर्बौंको शिविर घोटाला काण्ड इतिहासबाटै नामेट गरिदिन्छु भन्ने हो भने तपाईंले भोलि दाङका किराना पसले हरिप्रसाद बञ्जाडेलाई सांसद बनाएर प्रधानमन्त्री या राष्ट्रपतिको उम्मेदवार ठड्याइदिनुहुन्छ ।

तपाईंलाई दु:ख लाग्ला तर म मेरा बालाई तपाईंहरूको यो खेलमा छिर्न दिन्नँ !

थाहा छ– अस्ति फागुन १ गते तपाईंहरुले 'जनयुद्ध' दिवस भन्ने गरेको नरसंहार दिवस मनाइरहँदा मैले फेसबुकमा लेखेको थिएँ, "‪माओवादीले 'जनयुद्ध'को नाममा सोझा-साझा नेपाली माऱ्यो । त्यसपछि कहिल्यै माखो मारेन !"

यसको मुनि एकजना सज्जनले लेख्नुभयो, "भाग्यमानी रहेछौ तिमी छुटेछौ । फेरि अर्को जनयुद्ध सुरु हुने अवस्था आयो भने रोल नं. १ तिम्रै हुनेछ । किनकि यस्ता भाइरसको अन्त्य हुनु जरुरी थियो र छ !"

'प्रचण्डपथ'ले दीक्षित गरेका यस्ता सज्जनको अनुहार देख्दा म तपाईंलाई सम्झिन्छु ।

यो लेख पढेर फेरि पनि यस्तै प्रतिक्रिया आउनेछन् । ती सज्जनहरू मलाई एमाले, कांग्रेस, मसाल या अरु कुनै दलको प्रमाणित गर्न मरिमेटेर लाग्नेछन् । यिनैमध्ये एक दलले मलाई पुस्तैनी पुग्ने गरी खल्ती भरिदिएको लेख्नेछन् । कतिले 'सफाया' गर्नुपर्छ भन्नेछन् ।

'प्रचण्डपथ'मा हिँडेका ती सज्जनहरूको अनुहार देख्दा म तपाईंलाई सम्झिनेछु ।

प्रचण्डपथको डिजाइनमा कहाँनेर गल्ती गर्नुभयो र त्यो बाटैभरि कसरी यति ठूला भ्वाङ परे, कहिलेकाहीँ रिसोर्ट जाँदा समीक्षा गर्नुहोला । नत्र ती खाल्डामा परेर तपाईं हरेक क्षण लडिरहनुहुनेछ । जसरी मेलम्चीको पाइप बिच्छ्याउन खनिएको बाटो नपुर्दा हरेक दिन कैयौं सवारी लड्छन् । कति बाँच्छन्, कति मर्छन् । बाँच्ने केही 'भाग्यमानी' पात्रमध्ये दुईजना मेरै घरमा छन् ।

खुट्टा भाँचिएर उनीहरू रातदिन पीडाले छटपटाउँदा म तपाईंलाई सम्झिन्छु !

'प्रचण्डपथ' टेकेर शिखर चढें भन्नुहुन्थ्यो, हेर्नुस् त कति होचो हुनुभएछ !

० ० ०

तपाईंलाई हेक्का होला, यो देशमा अहिले ३ वटा सरकार छन्– प्रचण्ड/देउवा सरकार, कर्मचारीहरूको सरकार र सांगठनिक/आपराधिक झुन्डहरूको सरकार ! हामी (अ)नागरिकहरू त भेडाबाख्रा हौं । तपाईंहरूमध्ये जसले जता लैजान्छ, उतै चर्न जान्छौं ! आलोपालो (सिन्डिकेट) प्रणालीअनुसार अहिले हाम्रो डोरी तपाईंको हातमा छ । केही महिनापछि देउवाले त्यही डोरीले लतारेर हामीलाई चराउन लैजानेछन् । अनि हामी घाँटीमा पट्टी बाँधेर उनकै तजबिजमा हिँड्नेछौं । उनले दिए खानेछौं, नदिए भोकभोकै उनकै पैतलामुनि शिर निहुराएर उभिनेछौं । आईजीपी बनाउने (करोडौंको) खेल चलिरहँदा पनि हामी टुलुटुलु हेरीबस्यौं ।

यस्तो देख्दा रगत भकभक उम्लिन्छ, कन्सिरी पड्केलाझैं तात्छन्, आँखा राता हुन्छन्, दाँत सिलौटाझैं पिसिन्छन् । अनि फेरि हामी ढुक्कले सुत्छौं ! देश तपाईंहरूले चलाइरहनुभएकै छ । तपाईंहरूले हामीलाई यसैगरी बाँच्न सिकाउनुभयो । हाम्रो जिन्दगी यसैउसै धकेलिएको छ ।

हामी बाँचेका छौं किनभने हामीलाई अहिलेसम्म कसैले मारिसकेको छैन ।

अनेक कष्टले बाँचेको यो अनुहार कहिलेकाहीँ ऐनामा हेर्दा म तपाईंलाई सम्झिन्छु !

तर, छाड्दिनुस् । यो पनि तपाईंको चासोको विषय होइन । तपाईंको चासो अरुतिरै छ– ग्यास, चामल, तरकारी, मसला, धनियाँ, बाटो, धूवाँ, धूलोभन्दा धेरै टाढा । हाम्रो जीवन त यिनै कुरामा चर्खेपिङझैं घुम्दाघुम्दा बितिजान्छ, ठूला-ठूला कुरा सोच्न तपाईंहरू हुनुहुन्छ । र, त हामी ढुक्कले निदाउन पाएका छौं । र, त राति चामल, धनियाँको सपना देख्न पाएका छौं ! ढुक्कले सपना देख्न पाएका छौं किनकि राति मेलम्चीको धूलोले हामीलाई निस्सासिएर मार्दैन ! के गर्नू– हामी मध्यमवर्गीयहरूको सम्पूर्ण जीवन यस्तै झिनामसिना सपना देख्दैमा बित्छ । कति सपना राति देख्छौं, कति सपना दिउँसो ।

तपाईंलाई थाहा छ– अचेल हामीले फेर्ने सासमा २% अक्सिजन, ७८% राजनीति, १०% मेलम्ची र १०% वर्षौं पुराना थोत्रा गाडी मिसिएका छन् । तर, तपाईंहरूले फेर्ने सासमा मेलम्ची र गाडी मिसिँदैन । नाकबाट फोक्सोसम्म मेलम्ची र थोत्रा गाडी नछिरून् भनेर हामी उठेदेखि नसुत्दासम्म मुखभरि मास्क लगाउँछौं । तपाईंहरू मार्क्सका सिद्धान्त पढेर 'मार्क्सवादी' बन्नुभयो, हामी मेलम्ची र थोत्रा गाडी छल्न 'मास्कवादी' भयौं । काँधमा झोला बोकेजस्तै अक्सिजनका सिलिन्डर बोकेर हिँड्न सक्दैनौं । जसोतसो हामी त हिँडौंला, स-साना नानीहरू कसरी हिँड्लान् !?!

बाटाभरि मुख ढाकेर निस्साँसिँदै हिँड्ने करदाताहरू देख्दा म तपाईंलाई सम्झिन्छु !

क्यान्सर, ब्रोङ्काइटिस र फोक्सोको रोगले ख्याउटिएका अनुहार देख्दा म तपाईंलाई सम्झिन्छु ।

तपाईंहरू त 'वाद'को पुच्छर समातेर यो भीमकाय मृत्युसागर तैरिनुहुन्छ । तपाईं 'माओवाद' समातेर बाँच्नुहोला, 'जनवाद' समाएर केपी र झलनाथहरू बाँच्लान्, 'समाजवाद' समाएर थुप्रै खुमबहादुर र देउवाहरू बाँच्लान् या मधेसवाद समातेर महतो र यादवहरू बाँच्लान्– हातमा कुनै पुच्छर नहुने हामी कामकाजीहरू त यही सागरमा डुबेर मर्छौं ।

डुबेर मर्ने बेला म तपाईंलाई सम्झिनेछु !

० ० ०

मन न हो– अनेक प्रश्न उब्जिरहन्छन् । हामी हरेकसँग प्रश्न छन् । तर, प्रश्न गर्नुअघि सुन्न कोही चाहँदैन । तपाईं त सुनिदिनुस् न है !

     तपाईं कहिलेकाहीँ असाध्यै भावुक भएर रुनुहुन्छ रे ! त्यसरी रुँदा मनभरिको मैला पखालिएन कहिल्यै ?
     आफ्नो र परिवारको लागि बाँचें, सम्पत्ति थुपारें । अब देशका लागि बाँच्छु भन्ने भावना जाग्दैन होला कहिल्यै ?
     'सर्वहारा जनताको अधिकार स्थापित गर्न' लड्दालड्दै तपाईं आफैं 'सर्वआहारावादी' भएको हेक्का राख्नुभयो कहिल्यै ?
     बस, माइक्रो र ट्याक्सी चढ्दा हामीले खेप्ने मानसिक र शारीरिक यातना भोग्नुभयो कहिल्यै ?
     उपचार खर्च नभएर अस्पतालबाट फर्काइँदा तपाईंको जस्तै नुनिलो आँसु झार्ने निर्दोष अनुहारको पीडा पढ्नुभयो कहिल्यै ?
     दाल, चामल किन्न जाँदा पसलेले लिएको मनपरी मूल्य आफ्नै हातले तिर्नुभयो कहिल्यै ?
     हामीजस्तै निरीह उपभोक्ता भएर पसलबाट चामल या तेल किन्नुभयो कहिल्यै ?
     अझै पनि झ्याल गभर्नेन्समा रमाइरहेका हाम्रा सरकारी अड्डा चहार्नुभयो कहिल्यै ?
     र्‍याल चुहाउँदै हामीलाई ठग्ने स्यालहरूका कारखाना घुम्नुभयो कहिल्यै ?
     माओवादी हुँदै कमाओवादी बनेकोमा आफूप्रति घृणा जागेन कहिल्यै ?
     विमानस्थलभित्र हुने अनेकौं चलखेल र बेथिति देख्दा मन कटक्क काटेन कहिल्यै ?
     मालपोत, यातायात जस्ता कार्यालयहरू सरकारी कर्मचारीले कम, दलालले बढी चल्छन् भन्ने खबर पढ्नुभएको छ कहिल्यै ?

मलाई विश्वास छ, यी प्रश्न सुनेर तपाईंलाई कुनै असर पर्नेछैन । तपाईं त दक्षिणतिरबाट आउने नुनै नुनले पुरिनुभएको छ । त्यही नुन धेरै खाएर बेलाबेला तपाईंलाई ब्लडप्रेसरले सताइरहन्छ र बर्बराइरहनुहुन्छ । त्यही भएर नुनिलो आँसु धेरै बग्छ तपाईंको ।

मान्छेहरू भन्छन्– हरेक सामान्य मान्छेको एउटा जिब्रो हुन्छ, हरेक नेताका दुइटा हुन्छन् । तर, कमरेड प्रचण्डका शरीरमा हाडभन्दा बढी जिब्रा छन् !

तपाईंले त 'म प्रचण्ड हुँ' भन्नुभयो भने पनि म अचेल तीन पटक सोच्छु । मेरो मनमा कति धेरै अविश्वास भरिदिनुभयो तपाईंले !

यस्तो सुन्दा र पढ्दा मुर्मुरिएर हाँस्नुहुन्छ होला । हाँस्नु स्वास्थ्यका लागि फलदायी छ । आफैं नहाँसे सिंगो देशलाई कसरी हँसाउन सक्नुहुन्छ र ! तपाईं धेरै हाँस्नुहोला– रोइदिने त सवा ३ करोड हामी छँदैछौं !


Twitter– @lendaai

Source:http://baahrakhari.com/