विद्युतीय संचार माध्यमको नियमन गरिने

Posted on: May 25, 2017 | views: 403

काठमाडौं ।

सूचना तथा संचार मन्त्रालयले विद्युतीय संचार माध्यमहरुको प्रभावकारी नियमन गर्ने भएको छ ।

नियमनको लागि मन्त्रालयले सबै जिल्लाका जिल्ला हुलाक कार्यालय तथा क्षेत्रीय हुलाक कार्यालयलाई प्रभावकारी रुपमा परिचालन गर्ने भएको छ ।

संचार माध्यमहरुको नियमनलाई प्रभावकारी बनाउन मन्त्रालयले हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि विद्युतीय संचार माध्यमहरुको नियमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ ।

संचार मन्त्रालयमा भोलीसम्म हुने अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले  एफ एम तथा टेलिभिजन प्रसारणमा आउने समस्यालाई जिल्ला तहमै समाधान गरी प्रसारणलाई गुणस्तरीय र प्रभावकारी बनाउन संचार माध्यमहरुको नियमन गर्न लागिएको बताउनु भयो ।

नियमनका लागि प्रविधिमा आधारित छिटो छरितो सेवा प्रवाह गर्न  हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा व्रोडकास्टिङ एशोशियसन अफ नेपाल, नेपाल केवुल टेलिभिजन व्यवसायी महासंघ तथा सामुदायिक रेडियो प्रसारक संघका प्रतिनिधिहरुले प्रसारणमा रहेका विद्युतीय संचार माध्यमको प्रभावकारी नियमन हुन अत्यावश्यक भएको भन्दै त्यसमा सघाउन निजी प्रसारक संस्थाहरु तयार रहेको बताउनु भयो ।

अब हुलाक कार्यालय मार्फत एफ रेडियो, केवल नेटवर्कको अनुगमन र नविकरण तथा लोककल्याणकारी विज्ञापन वितरण र अनुगमन कार्य हुनेछ ।