आँखाको लेन्स उत्पादन गर्न सहमति

Posted on: May 11, 2017 | views: 852

काठमाडौं ।

उद्योग मन्त्रालयले तिलगङ्गा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्सको उत्पादन वृद्धि गर्न सघाउने भएको छ । 


आज त्यससम्बन्धी सहमतिपत्रमा उद्योग मन्त्रालयका मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र प्रतिष्ठानका तर्फबाट आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गर्नुभयो । 


त्यस अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्ने योजना रहेको बताउनुभयो । 


सहमतिअनुसार नेपाल आँखा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको उद्योग मातहत रहेका सम्पूर्ण यान्त्रिक औजार, प्रविधि, सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याउने तथा उद्योगबाट उत्पादित लेन्सको अन्तर्रा्ष्ट्रिय प्रवद्र्धनका निमित्त आर्थिक कूटनीतिक माध्यमबाट आवश्यक सहकार्य गरिने छ । 


डा. सन्दुक रुइतले अन्तराष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरीय उत्पादनका रुपमा ख्याति कमाइसकेकाले मन्त्रालयले थप सहयोग गरी बढी लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्ने बताउनुभयो । 


तिलगंगा नेत्र प्रतिष्ठानले हाल ४९ लाख लेन्स उत्पादन गरी ५० भन्दा बढी मुलुकमा वितरण गरिएको जनाएको छ ।