गोरखापत्र १ सय १७ औं बर्षमा प्रवेश, प्राध्यापक पि. खरेल सहित ८ जना पुरस्कृत

Posted on: May 07, 2017 | views: 431

काठमाडौं ।

गोरखापत्र संस्थानले आफ्नो ११७ औं बार्षिकोत्सव तथा राष्ट्रिय पत्रकारिता दिवस आज विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

काठमाडौंमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालको भाषा विकासमा गोरखापत्रले महत्वपूर्ण भुमिका निर्बाह गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री कार्कीले गोरखापत्रको भौतिक पूर्वाधार विकासका लागि रेडियो नेपालसँग जग्गा लिएर भवन निर्माण गर्ने तयारी भैरहेको पनि जानकारी दिनुभयो । 

सञ्चारमन्त्री कार्कीले गोरखापत्र नीजिकरण हुने हो कि भन्ने आशंका नराख्न र गोरखापत्रलाई विश्वसनीय र जनताको हो भन्ने विश्वास दिलाउने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गोरखापत्रले बदलिएको परिवेशमा नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी जनशक्ति र प्रविधिमा आधुनिकिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरिय समितिका अध्यक्ष काशीराज दाहालले गोरखापत्र देशकै इतिहास भएको र यसको स्वामित्व सर्वसाधारण सम्म पु¥याउन र समावेशी बनाउनका निम्ति कानुन निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल र महाप्रवन्धक सुशील कोइरालाले गोरखापत्रले सदैव संयमित, मर्यादित र सन्तुलित भएर समाचार सम्प्रेषण गरिरहेको बताउनुभयो । 


कार्यक्रममा यस वर्षको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरष्कारबाट वरिष्ठ पत्रकार एवं प्राध्यापक पी.खरेललाई ५५ हजार ५ सय ५५ नगद सहित सञ्चारमन्त्री कार्कीले पुरस्कृत गर्नुभयो । 


सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल सरकारका तर्फबाट प्रदान गरिने बरिष्ठ पत्रकार सम्मान २०७३ बाट चार जना र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ बाट ४ जनालाई २ लाख नगद सहित आज सिंहदरबारमा सम्मान गर्नुभयो । 


सम्मानित हुनेहरुमा बरिष्ठ पत्रकारहरु मदनमणि दिक्षित, नारायणप्रसाद शर्मा, कृष्णा ताम्राकार र बिश्वबन्धु भण्डारी तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेमा गणशेखर शर्मा, शिब बहादुर कार्की, सिराज खान र गजेन्द्र बुढाथोकी हुनुहुन्छ ।  


सम्मान समारोहमा सञ्चारमन्त्री कार्कीले पत्रकार र सञ्चार जगतले सकारात्मक र रचनात्मक भूमिका सही ढंगले निर्वाह गरे धेरै समस्या समाधान हुने बताउनु भयो । 


मन्त्री कार्कीले मूलकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका बीचको असमझदारी अन्त्यको लागी सकारात्मक भूमिका निर्बाह गर्न सञ्चार जगतलाई आग्रह गर्नुभयो । 


त्यस अबसरमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले सरकारी सञ्चार माध्यमलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लगिने बताउनु भयो । 


कार्यक्रममा राष्ट्रिय आम सञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले मुलुकको समस्या समाधानमा सञ्चार जगतले सहि दिशानिर्देश गर्नु पर्ने बताउनु भयो । 


कार्यक्रममा पुरस्कृत पत्रकारद्धय गजेन्द्र बुढाथोकी तथा नारायणप्रसाद शर्माले नेपालका पत्रकारहरुको पेशागत सुरक्षा नरहेको बताउनु भयो ।