२०८० सालसम्ममा नयाँ पाठ्यक्रम लागूहुने, कुन वर्ष कुन कक्षाको विस्तृतमा

Posted on: January 18, 2021 | views: 305

विदुर । अबको तीन वर्ष अर्थात आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू गर्न लागिएको हो । 

विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजना अनुसार यो शैक्षिक सहितको चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिनुभयो । चालू शैक्षिक सत्र अन्तरगत यो वर्षमा नै कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको छ ।  

केन्द्रका अनुसार २०७८ को शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने भएको छ । २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने महानिर्देशक दाहालले जानकारी दिनुभयो ।

अदालतले नयाँ पाठ्यक्रम लागूगर्न कानुनी रूपमा बाटो खोलिदिएकाले समस्या नहुने र त्यसको कार्यान्वयनमा सरकार अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि झण्डै तीन महिना पठनपाठन अन्योल देखिएको थियो । सर्वोच्च अदालतले पुस २८ गते नयाँ पाठ्यक्रम लागू गर्न सरकारलाई बाटो खोलिदिएको हो ।

यसैबीच, केन्द्रले नयाँ पाठ्यक्रम लागू भएको कक्षा ११ मा पढाउने शिक्षकलाई तालिम दिने भएको छ । तीनवटा अनिवार्य विषय अध्यापन गर्ने शिक्षकलाई तालिम दिने गरी कार्ययोजना बनाइएको छ । यसपटकबाट कक्षा ११ मा नेपाली, अङ्ग्रेजी तथा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा गरी तीन विषयलाई अनिवार्य गरेको छ ।