जो ७२ दिनसम्म हिउँमा फसेपछि ....

Posted on: August 01, 2017 | views: 422

एजेन्सी । सन् १९७२ मा भएको यस हवाइजहाज दुर्घटनालाई धेरैले भुल्न सक्दैनन् । विगतमा भएको यस घटनाले मानवता र जीवनबीचको सम्बन्धमाथि नै प्रश्न उठाएको थियो । यस दुर्घटनामा कतिले ज्यान गुमाए भने कतिले आफ्नो साहसका कारण सबैको मन जिते । यसै घटनालाई फिल्मको रुपमा पर्दामा पनि उतारिएको थियो । ‘अलाइभ’ नामक यो फिल्मले धेरै दर्शकलाई रुवायो । आज हामी यसै घटनालाई याद गर्न जाँदैछौं

१३ अक्टुबर १९७२ मा उरुग्वेको ओल्ड क्रिस्टियन रगबी टिम र उनीहरुका परिवार तथा साथीहरु लिएर एन्डिज पहाडमाथि उडिरहेको प्लेन खराब मौसमका कारण अचानक दुर्घटनामा परेको थियो । ४५ जना यात्रु बोकेको उक्त विमान दुर्घटनाग्रस्त भएर एन्डिसको हिउँले ढाकिएको पहाडको बीचमा खसेको थियो ।

४५ यात्रुमध्ये २७ जना मानिसहरु दुर्घटनाबाट बच्न सफल भएका थिए । घटनाबारे खबर पाउने बितिक्कै उरुग्वेको सरकारले खोजीको कार्य थालेको थियो । सेतो हिउँदे पहाडको बीचमा खसेको विमानको रङपनि सेतै भएकाले उक्त विमानको खोजीकार्यमा धेरै कठिनाई आइलाग्यो । एघार दिनसम्मको खोजीपछि पनि विमानको कुनै पत्ता नलागेकाले उद्धार कार्यक्रम बन्द गरियो ।

१४ हजार फिटको उचाईबाट खसेको विमानका यात्रुहरु अझै पनि बाँचिरहेका हुनेछन् भनेर कसैले पनि सोचेको थिएन । उद्धार कार्य रोकिएपछि बाँचेका र कतिपय घाइते अवस्थामा रहेका यात्रुहरुको अवस्था निकै नाजुक भइसकेको थियो । खाद्य सामग्री घट्दै गएपछि उनीहरुलाई दिन कटाउन निकै समस्या परेको थियो । तरपनि आफूसँग भएजति खानाले उनीहरु जसोतसो बाँचिरहेका थिए ।

उनीहरु अझैपनि मद्दतका लागि कोही न कोही आउला भनेर धैर्यसाथ पर्खिएर बसेका थिए । तर, दिन बित्दै जाँदा उनीहरुसँग भएको सबै खानेकुरा सकिँदै गयो र सहयोगको कुनै श्रोत देखा परेनन् । यस्तोमा उनीहरुको हौसला टुट्दै गइरहेको थियो । कतिपय घाइते भएका यात्रुहरुको उपचारको पर्खाइमै मृत्यु भयो । आफ्नै अगाडि मृत्यु हुने साथीभाइको सङ्ख्या बढ्दै गएपछि बाँचेकाहरुले समेत जीवनसँग माया मार्न थालेका थिए ।

खाना नभएपछि उनीहरुको शरीर काम गर्ने अवस्थामा थिएन । चिसो बरफको पहाडमा त्यसरी आफूलाई जिउँदै राख्न उनीहरु अब कुनै पनि तरिका अपनाउने अवस्थामा पुगिसकेका थिए । त्यसपछि मानवता रोज्ने कि जीवन भन्ने कुरामा उनीहरुबीच ठूलो विवाद भयो । अन्त्यमा उनीहरुले जीवनलाई नै रोजे र

आफ्ना साथीहरुको लासबाट मासु निकालेर खाने निर्णयमा पुगे । यसो गरेर बाँचेमा पछि समाजले उनीहरुलाई स्वीकार्दैन भनेर उनीहरुको मनमा ठूलो डर थियो । तरपनि उनीहरुले खाने कुराको अभावमा यो तरिकालाई नै त्यसबेला उपयुक्त मानेर जीवनको लडाईं लडिरहे ।

तर, त्यसरी सधैँभरि लासको मासु निकालेर खादैँ पर्खिएर बस्न पनि सम्भव थिएन । त्यसैकारण जहाँ सबै मृत्युलाई कुरेर बसिरहेका थिए त्यहीँ नन्दो पैराडो र रोर्बट कैनेसाले साहसपूर्ण कदम उठाए । उनीहरु दुईजना मिलेर एन्डिज पहाड पार गर्दै मद्दतको खोजीमा जाने निर्णय लिए । कमजोर भएतापनि उनीहरुले हार मानेनन् र १२ दिनसम्म ट्रेकिङ गरेर चिली नजिक पुगि मद्दत लिएर आए र सबैको ज्यान बचाउन सफल भए ।