भगवान हनुमानलाई तत्काल मन्दिरबाट हट्न अदालतको आदेश

Posted on: May 03, 2016 | views: 674

१ चैत, एजेन्सी ।
छिमेकी भारतमा अनौठा कृत्य भैरहन्छन् । कहिले कुखुरालाई पुलिसले पक्रिन्छ त कहिले बाख्रोलाई पक्रिन्छ । कहिले भगवानको नाममा परिचयपत्र तयार हुन्छ । यो पाला भने भारतको एक अदालत निकै क्रान्तिकारी बन्दै भगवान हनुमानका नाममा आदेश जारी गरेको छ ।

सडक किनाराको मन्दिरबाट मन्दिर सहित तत्कालै हट्न अदालतले हनुमानका नाममा आदेश दिएको हो ।

बिहारको रोहतास जिल्लाको डहेरी अनसोनको एक अदालतले यस्तो आदेश दिएको बताइएको छ । अदालतको आदेश पछि जिल्लाका सर्कल अफिसरको नामबाट  भगवान हनुमानको नाममा सूचना जारी गर्दै मन्दिर सहित आफुलाई हटाउन निर्देशन दिइयो ।

हनुमान मन्दिरको मूर्तिमा टाँसिएको सूचनामा लेखिएको छस् तिम्रो मन्दिरको कारण सडकमा हिड्ने मानिसलाई गाह्रो भैरहेको छ । त्यसैले तिमीले यहाँबाट आफ्नो मन्दिर हटाऊ ।

हनुमानका नाममा नोटिस जारी हुनेबित्तिकै यो घटनामाथि खुबै हसिमजाक भैरहेको छ र विरोध पनि भैरहेको छ । बजरंगी दलका कार्यकर्ताहरु मन्दिरमा पुगेर नाराबाजी तथा हंगामा गरे । सडक बन्द गरेर प्रशासनको विरुद्ध नाराबाजी गरे । हनुमानको मूर्तिमै सूचना टाँस गरिएको छ ।

यो घटनापछि सर्कल अफिसरले गल्ती स्विकार गरे । कसको गल्तीका कारण हनुमान मन्दिरको नाउँमा सूचना पठाइएको हो, त्यस विषयमा अनुसन्धान हुने उनले बताएका छन् ।

यसअघि बिहारको बेगुसराय जिल्लामा पनि हनुमान मन्दिर हटाउनका लागि बजरंगबलीको नाममा सूचना पठाइएको थियो । यसअघि सितामढीमा भगवान रामको विरुद्धमा मुद्दा हालिएको घटना पनि सार्वजनिक भएको थियो । अनलाईन खवरले समाचार लेखेको छ ।