खोटाङ भेटिए १ सय ७६ वर्षीय बृद्ध

Posted on: May 03, 2016 | views: 693

२९ सोज, खोटाङ । तपाईलाई विश्वास नलाग्न सक्छ खोटाङको दक्षिणी गाविस खोटाङबजार–७ मा १ सय ७६ बर्षका बृद्ध भेटिएका छन् । नझुक्किनुहोला ७६ हैन १ सय ७६ बर्षका जुन कुरा नागरिकतामा प्रष्ट लेखिएको छ । खोटाङबजार राटमाटाका गणेशप्रसाद गेलाल १ सय ७६ वर्ष पुगेको प्रष्ट छ कारण उनको नागरिकतामा विस १८९६ को जन्ममिति लेखिएको छ । गेलाल र उनको परिवारका सदस्यलाई आधार मान्दा भने गेला मात्र ७६ बर्ष पुगेका छन् । तर नागरिकताअनुसार उहाँ विश्वकै बुढो मानिस हुनुहुन्छ । २०४२ सालमा जारी भएको गेलालको स्थायी नागरिकतामा जन्म मिति १८९६ साल कार्तिक–४ गते उल्लेख छ । नागरिकता बनाउने टोलीका कर्मचारीबाट १९९६ साल उल्लेख गर्नुपर्ने ठाउँमा १८९६ साल उल्लेख हुन पुग्दा गेलालको उमेर १७६ वर्ष पुगेको गाविस सचिव गोबिन्द पराजुलीले बताउनुभयो । ‘संसारकै ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिक परिवारका सदस्य’ भनेर आफन्तले गर्ने ठट्टाले पिरोल्ने गरेको गेलाल परिवारको भनाई छ । उहाँको छिमेकी टिकाराम राईका अनुसार गल्ती गणेशप्रसादकोे होइन, नागरिकता प्रमाणपत्रमा लेख्ने कर्मचारीको हो । नागरिकताकै आधारमा उहाँले सामाजिक सुरक्षा भत्ता थापेको पनि वर्षौँ भयो । कान कम सुन्ने गेलाल र कर्मचारीबीच राम्ररी सञ्चार नहुँदा नागरिकतामा गलत जन्ममिति उल्लेख हुन पुगेको स्थानीय बासिन्दाको अनुमान छ । गणेशप्रसाद नागरिकतामा सय वर्ष जेठो उल्लेख भएकै कारण केही अप्ठ्यारो नभएकाले  अहिलेसम्म जन्ममिति सच्याउन नगएको बताउनुहुन्छ । गेलाल परिवारले नागरिकता सच्याउनका लागि आवेदन दिए सच्याउन सकिने गाविस सचिव पराजुलीले बताउनुभयो । गएको वर्ष गाविसका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा गणेशप्रसादको नामलाई लिएर केही बिवादसमेत भएको थियो । गाविसमा खास जन्मेका आधारमा सम्मान पाउने अरु बृद्धबृद्धा थिए । नागरिकता र प्रमाणका आधारमा सम्मान गेलाललाई दिनुपर्ने भयो । अन्तमा खास जन्म मितिको आधारमै बृद्धबृद्धालाई सम्मान गर्ने निर्णय गरिएको एमाले जिल्ला सदस्य राजन बञ्जराले बताउनुभयो । ‘नागरिकतामा उल्लेख भएको आधारमा वा खास जन्म मितिको आधारमा सम्मान गर्ने भन्नेमा बिवाद उठेको थियो,’ बञ्जराले भन्नुभयो, ‘अन्तमा खास जन्मका आधारमा सम्मान गर्ने निष्कर्षमा पुगिएपछि गणेशप्रसाद सम्मान पाउनबाट बञ्चित भएका थिए ।’