राष्ट्रपतिलाई १६ करोडको कार र कमेडी सर्कसका हाम्रा प्रधानमन्त्री..

Posted on: August 03, 2017 | views: 261

काठकमण्डौ । अब भने नेपाली राजनीतिक नेताहरू नेता कम र लेता बढी देखिन थाले । हिन्दी भाषामा एउटा बढा गजबको भनाइ छ, नेताका बारे– ‘नेता सब कुछ लेता, मगर कुछ नही देता ।’

आलङ्कारिक राष्ट्रपतिको कुर्सीमा विराजमान महामहिम विद्यादेवी भण्डारीलाई आफूले चढेको कारले नपुगेर १६ करोडको कार चढ्ने फूर्ति गर्नु पर्‍यो । उनले सरकारसँग ठाडै माग गरेकी छन् । क्या अचम्म ! जनता भूकम्पको दोस्रो किस्ता ऋण नपाएर फाटेको पालमुनि बर्खा काट्न बाध्य छन् । मुङ्लिनको ३४ किलोमिटर बाटो पार गर्न सवारी साधनलाई ४-४ घन्टा लाग्छ । बाटो कहिले बनी सक्ने हो त्यो थाहापत्तो छैन । मेलम्ची खानेपानीको सपनाले राजधानीबासीलाई ‘राजनीतिक ब्लाकमेलिङ्’ गर्न थालेको बीस वर्षभन्दा बढी भयो । गणतन्त्र ल्याउने पहिलो पुस्ता मेलम्ची–मेलम्ची भन्दै माटिए । अझै पानी आउने पत्तो छैन । पदासिन भए भन्दैमा देशले नथेग्ने सुविधाहरू माग्न तपार्इंहरू जस्तालाई अप्ठ्यारो लाग्नु पर्ने हो, हैन ?

तर नेपालमा त्यो लाज भनेको जिनिश ठूला र पदासिन नेतालाई भएको भए आजका दिनमा यो मुलुकको हविगत यस्तो हुने थिएन । जानकारहरूका शब्दमा त्यतिको महँगो कार चीनका राष्ट्रपति जि सिन पिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चढ्नेभन्दा महँगो हो । गरिब देशका नेताको स्वाँङै बढी । यस्तै अवस्थालाई हेरेर हाम्रा पुर्खाहरूले ‘भाङ्गाको टोपीलाई गुहेँलाको फूल’ उखानको अभिर्भाव गरेका होलान् कठै ! अझ देश संघीयतामा जाँदै छ । सात सातवटा प्रान्तीय सरकार र केन्द्रीय सरकार अनि देशभरिका जनप्रतिनिधिलाई दिइने सेवा सुविधालाई हाम्रो जस्तो देशले कतिन्जेल थेग्न सक्छ या सक्दैन, त्यो कहिले गहिरिएर विश्लेषण गर्नु भएको छ ? के देश तपाईंले शुभविवाहमा दाइजोमा पाएको हो ? व्यवस्था तपाईंको पेवा हो ? नागरिकका हैसियतले देशका जुनसुकै दूरदराजमा रहे–भएका जनताले यो प्रश्न गर्न पाउने कि नपाउने ? थाहा पाइराख्नुस्, जिम्बाबेका राष्ट्रपतिलाई त्यहाँको सरकारले दिएको सरकारी आवासमा नबसेर उनी आफ्नै सानो झुप्रोमा बस्छन् ।

संसारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक नम्बरको जोकर’, सन्काहा र हावा राष्ट्रपति मान्दछ तर अब त्यो विशेषण र आफ्नै देशका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले उल्टापाल्टा र अन्टसन्ट विशेषताहरू देखाउन थालेपछि यहाँ सरेको छ । हिन्दीको कमेडी सर्कस अब दर्शकहरुले नहेरे पनि भयो । देशकै राष्ट्रपति र प्रधानमन्त्रीले जोक गरेपछि हालैको बीबीसी साझा सवालमा सहभागीहरूले प्रश्न सोध्दा देखाएको कार्यकारीको रबैया र सप्तरीका बाढीपीडितहरू सामु प्रमले राहतको प्याकेज घोषणा गर्दा गरेको भाषणले देउवामा समेत देश, सिष्टम र संवेदनाका पक्षमा सामान्य ज्ञानसमेत नभएको देखियो । कति हाँस्नु ? जनता त हाँसेरै मर्ने भए बा !

गर्मीको सिजन छ । राजधानीका बाटा घाटाहरू हिलो पानीले हिलाम्मे बनेका छन् । बाल, वृद्ध र वनिता जुनसुकै बेला अस्पताल जानु पर्ने भएको छ । अलि अघि धूलोले सडकमा दिउँसै बत्ती बाल्नु पर्ने हुन्थ्यो अब मेलाम्ची नानीले आफ्ना पाएपका हाँगा बिच्छाउने निहूँमा सडक एक किसिमको धान रोप्ने खेत र पोखरीझैँ बनेको छ । अस्पताल जाऊँ भने पनि जनता हिँस्रक अस्पतालबाट तर्सने थाले । मनमोहनका सुनाममा खोलिएको अस्पतालमा पत्थरीको बिरामीलाई अप्रेसन गर्ने निहूँमा किडनी नै झिकेर फालिएको समाचार आयो । मेडिकल शिक्षाको माफियागिरी विरुद्धमा नानीदेखिको बल लगाएर अनसन बस्ने डा. गोविन्द केसी मृगौलाजस्तो शरीरको अत्यावश्यक अङ्ग नै अस्पतालले झिकेर फालिदिँदा चुप लाग्नुको अर्थ खोजिँदैछ– यतिखेर ।

उता एमालेकै जुझारू नेतृ रामकुमारी झाँक्रीले एकजना दुर्गमका शिक्षकलाई फेसबुकमा स्टाटस राखेको निहूँमा खुट्टा भाँचिदिने ऐलान गरिछन् । पहिलो र दोस्रो चरणको चुनावमा एमालेले बहुमत प्राप्त गरेको खुसीयालीमा एमालेका नेताहरूको फूर्तिफार्ति बढेको हो कि ? अचेल जनताहरू बाहिरफेर चियागफमा यस्तै प्रसङ्ग झिकेर कुरा गर्न थालेका छन् ।

यो मुलुकको हविगत देख्दा सरकार लुटेराको भेषमा देखिएको छ । सरकारी रबैया र तिनका आसेपासेहरू दोस्रा र तेस्रा निरोका अवतारका रूपमा भटाभट देखिएका छन् । जनताले आफ्नो छनोटमा भए गरेका बद्मासभन्दा ‘कम बद्मास’ छान्नै पर्ने स्थितिको अन्त्य जबसम्म चुनावी प्रक्रियामा हुँदैन तबसम्म देश अघि बढ्न सक्दैन । अब हुने प्रदेश र संघका चुनावमा ‘नो भोटिङ’ को अनिवार्य व्यवस्था मतपत्रमा गरिनै पर्ने टड्कारो आवश्यकता देखियो । अहिले चुनावमा चुनिएर आएका र अबका दस वर्षसम्म चुनावमा आउन सक्ने सबै प्रमुख र ससाना पार्टीका नेता (लेता ?) का अनुहारको व्यतिरेकी विश्लेषण गर्ने हो भने पनि घुमिफिरी पश्च चिन्तनका गरिब साथै नयाँ सुझ एवम् सोच नभएका नेतालाई छान्नुको कुनै विकल्प हामी जनतासँग छैन । त्यसो भन्दैमा नयाँ कुराका लागि खबरदारी गर्न पनि छाड्नु हुन्न ।

रहँदाबस्दा ठूलो हुँदै गएको दल एमालेबाट बामदेव गौतम, सुवाष नेमाङ र ईश्वर पोखरेल, कांग्रेसबाट उपद्रो तल झरेर प्रमको खोजी गरियो भने क्रमशः रामचन्द्र पौडेल, डा.शेखर कोइराला, डा.सशाङ्क कोइराला र डा. रामशरण महतहरूले नै गणतान्त्रिक प्रममा धोती फेर्ने वातावरण बन्दै गएको छ । माओवादी केन्द्रमा भने अझै प्रचण्डले तेस्रोपटक प्रम भएर ‘ह्याट्रिक’ गरे भने अन्यथा नलिए हुन्छ । राजनीतिको समर सकिएको हो । अब विकासे राजनीतिका लागि स्थानीय निकायको चुनाव पनि हुँदैछ । त्यो सकिएपछि पनि अझै जनतालाई के इस्युमा झुक्याउने भन्ने सकुनी सोचमा पार्टीका नेताहरू लागिरहेका छन् । संविधान संशोधनको ‘हगे हग मुते काट्छु’ जस्तो मधेशवादी र एमालेको रोइलोले देशलाई पक्कै पनि जातीय र क्षेत्रीय दंगामा नलैजाला भन्न सकिन्नँ । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी भन्छन्– ‘मुलुक अब जाने भनकै जातीय र क्षेत्रीय मुद्दामा हो । एकपछि अर्को गर्दै यहाँ कृत्रिम संघर्षका सुनामीहरू मच्चाउने गोटी चालिँदै गरिएको बुझिन्छ ।’ एउटा सानो स्कुले बच्चाले पनि हाम्रा नेताका तीन न तेह्रका पाङ्दुरे कुरा पत्याउने मुडमा छैन ।

देश हाँक्न भिजन, मिसन र गोल चाहिन्छ । अहिलेका नेताहरूमा अप्रिय निर्णय लिएरै सही त्यस्तो किसिमको भिजन भएको भेउ जनताले पाउन सकेका छैनन् । चिनीयाँहरू नेपाललाई सुनखानीमा सुतिरहेको देश ‘स्लिपिङ् ओभर अ गोल्ड माइन’ भन्छन् । नेपाली नेताहरूलाई त्यसको हेक्कै छैन । या बुझेर बुझ पचाइरहेका छन् । बास्तवमा साझा सवालमा त्यो युवा जसले सिङ्गापुरको उदाहरण दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न राख्यो, त्यो औसत नेपाली युवाप्रश्न र आक्रोश हो । यहाँ आफू चौथोपटक प्रधानमन्त्री हुनुको महत्व शेरबहादुरले नेपाली चुस्तदुरुस्त र प्रविधिमा अपडेट युवापुस्तालाई बुझाउन सक्दैनन्, कारण उनीसँग त्यस्तो गतिलो सूत्र छैन, जसले देश बनाउन सकियोस् ।

उनी विकासका संवाहक सूत्राधार पनि होइनन् । उनको ऊर्जा तीन–तीन पटक प्रधानमन्त्री हुँदैदेखि भोगिएको हो । त्यो युवा जसले प्रधानमन्त्रीलाई लल्कार्‍यो उसले हान्स एन्डरसनको इम्पेरियर न्यू क्लोथलाई पुनः नेपाली परिवेशमा सम्झाउने काम गरेको छ । अहिलेको बादशाह (?) जो आफूलाई इलेक्टेड भन्छ, त्यो राज्य सञ्चालनका मामलामा जताततै चुकेको छ ।