नेपाली भुमि लिपुलेकमा भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग

Posted on: August 02, 2017 | views: 373

दार्चुला । नेपालले दावी गर्दै आएको भुमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको छ । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।

लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलास पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर पबित्र धार्मीक स्थल कैलासमानसरोबर नेपाल भारत र चिनको त्रिदेशीय सिमा नजीक पर्दछ । 

उक्त क्षेत्रमा नेपाल, भारत र चिन तिनै देशको भुमि प्रयोग गरेर पुग्न सकिन्छ । तर नेपाली बाटो असुरक्षीत हुदा नेपाली भक्तजनहरु दार्चुला सदरमुकामबाट भारत हुदै कैलासमानसरोबरको दर्शन गर्न जाने गरेका छन ।

दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।

नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षिय धनसिह धामीले बताउँनुभयो । भेडाच्याङ्ग्रा र घोडाखच्चरमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको हो ।

सितापुलबाट उत्तरतिर नेपालीहरुलाई भरियाबाहेक अन्यरुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ । अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष संकरसिह धामीले बताउनुभयो ।