श्रमजीवी पत्रकारका समस्या समाधान गर्न पहल गर्छु – सञ्चारमन्त्री बस्नेत

Posted on: July 30, 2017 | views: 235

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारका समस्या समाधानमा मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै मन्त्री बस्नेतले भन्नुभयो, “दिनभर श्रम गर्ने सञ्चारकर्मीका समस्या समाधान हुनैपर्छ । श्रमजीवी पत्रकारले उचित पारिश्रमिक नपाएको भन्ने सुनेको छु । सुनुवाइ नहुने भन्ने हुँदैन ।”

सञ्चारगृहका पनि आफ्ना समस्या हुनसक्ने भन्दै उहाँले दुवै पक्षले आपसी समन्वयमा वार्ता र सहमतिबाट समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सञ्चार मन्त्रालय मुलुकका लागि धेरै जिम्मेवार मन्त्रालयका रुपमा रहेको बताउँदै मन्त्री बस्नेतले मन्त्रालयअन्तर्गत थालिने सुधार कार्यमा सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

समितिको प्रतिवेदनका सम्बन्धमा आफूले यसअघि पनि चासो राखेको प्रसंग उल्लेख गर्दै उहाँले सम्बन्धित सबै निकायसँग आवश्यक परामर्श गरी प्रतिवेदनले आँैल्याएका विषयलाई सम्बोधन गर्न नियम कानून र स्रोतसाधनले भ्याएसम्म पहल गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष पोषण केसीले सबै प्रदेशका ६० जिल्लामा श्रमजीवी पत्रकार, कर्मचारी र कामदार औपचारिक तथा अनौपचारिकरुपमा अनुगमनमा सहभागी गराई प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो । अध्यक्ष केसीले नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले तहगत वर्गीकरणअनुसार तलब पाउनसमेत समस्या भएको बताउनुभयो ।

एक तिहाइले न्यूनतम तलब पाउँदैनन्

समितिले मुलुकभर गरेको सर्वेक्षणअनुसार अझै पनि ३२.३ प्रतिशत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले श्रमजीवी पत्रकार ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक पाउँदैनन् । ऐनले तोकेको न्यूनतम पारिश्रमिक मात्र पाउने ३५.७ प्रतिशत छन् भने तोकेभन्दा बढी पाउनेको संख्या ३२. प्रतिशत रहेको छ ।

विधागत अवस्थालाई हेर्दा रेडियोमा कार्यरत ४२.६ प्रतिशत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले न्यूनतम पारिश्रमिक पाएका छैनन् । त्यस्तै पत्रपत्रिकामा कार्यरतमध्ये ३२.६ प्रतिशतले र टेलिभिजनमा कार्यरत २४.९ प्रतिशतले न्यूनतम पारिश्रमिक पनि पाउन सकेका छैनन् । अनलाइनमा कार्यरतमध्ये २१.५ प्रतिशतले न्यूनतम पारिश्रमिक पाउन नसकेको समितिले जनाएको छ ।

प्रतिवेदनअनुसार नियुक्तिपत्र प्राप्त गर्ने पत्रकारको संख्या पनि निकै कम देखिएको छ । जम्मा ७४.२ प्रतिशत पत्रकारले मात्र नियुक्तिपत्र प्राप्त गरेका छन् । नियुक्तिपत्र प्राप्त गर्नेमध्ये ४४.१ प्रतिशत स्थायी छन् भने ५५.९ प्रतिशत अस्थायी रहेका छन् ।

एक चौथाइले नियुक्तिपत्र पाउन सकेका छैनन्

अहिले पनि २५.८ प्रतिशत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले नियुक्तिपत्र पाउन सकेका छैनन् । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारमध्ये ६३.९ प्रतिशत पूर्णकालीन छन् भने २२.१ प्रतिशत आंशिक, १३.५ प्रतिशत स्ट्रिन्जर र नखुलेका ०.५ प्रतिशत रहेका छन् । अझै २६.२ प्रतिशतलाई श्रमजीवी पत्रकार ऐनले तोकेको पारिश्रमिकबारे जानकारी छैन ।

सञ्चार प्रतिष्ठानमा पारिश्रमिक भुक्तानीको अवस्था हेर्दा अहिले पनि हरेक महिना तलब खाने पत्रकार, कर्मचारी र कामदारको संख्या जम्मा ६६.९ प्रतिशत रहेको छ । करिव ९.९ प्रतिशतले दुई महिनामा एकपटक तलब बुझ्छन् भने २३.१ प्रतिशत पत्रकारले तीन महिनामा एकपटक वा सोभन्दा बढी समयमा मात्र तलब पाउँछन् ।

सञ्चार क्षेत्रमा बिदाको अवस्था हेर्दा ४३ प्रतिशत सञ्चार प्रतिष्ठानमा अहिले पनि कुनै पनि बिदाको व्यवस्था गरिएको छैन । करिब ५७.७ प्रतिशत सञ्चार प्रतिष्ठानले ऐनले तोकेको सेवासुविधाबाट श्रमजीवी पत्रकार, कर्मचारी र कामदारलाई वञ्चित गरेका छन् ।