बर्दियाका विभिन्न नाकाबाट २४ जना युवतीको उद्दार

Posted on: July 25, 2017 | views: 278
बर्दिया । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्दार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्दार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भन्नुभयो – “भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । सुरक्षाकर्मी राखिएका मार्गहरु दलालले प्रयोग गर्दैनन् ।” ६ महिनाको अवधिमा बर्दियाका ती संवेदनशील नाकाबाट २४ जना युवतीको उद्धार गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । चेलीबेटी भारत पुर्‍याउन दलालले बर्दियाकै मानिस प्रयोग गर्ने गरेका छन्, उहाँले भन्नुभयो— विश्वासै गर्न नसक्ने मानिसले औषधि उपचार, किनमेललगायत विभिन्न बहानामा चेलीबेटी भारत पुर्‍याउने गरेको देखिएको छ । मानव ओसारपसार तथा चेलीबेटी बेचबिखन विरुद्ध जिल्लामा काम गर्दै आएका साना हातहरु नामक संस्थाकाअनुसार बर्दियाका जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्रको रुपमा रहेका छन् ।