शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा पूर्ण इजलासमा, फैसला नआएसम्म भष्ट्रचार मुद्दा पनि यस्थास्थितिमा र

Posted on: July 19, 2017 | views: 294

काठमाडौं।आन्तरिक राजश्व बिभागका निलम्बित महानिर्देशक चुणामणी शर्मामाथिको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाएको छ । ६ दिने लामो बहस आज सकिएपछि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणसम्वन्धी सो मुद्धाको सुनुवाईका क्रममा रिटमा जटिल प्रश्न उब्जेको भन्दै पूर्ण इजलासमा सुनुवाई गर्ने भएको हो ।

न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले शर्मासहित तीन जनाबिरुद्ध बिशेष अदालतमा दायर भ्रष्टचारसम्बन्धी मुद्दा पनि यथास्थितिमा राख्न आदेश दिएको छ । अख्तियारले कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसहित आयोगका सदस्य सचिव समेत रहेका शर्माबिरुद्ध बिशेष अदालतमा गत आइतवार भ्रष्टचार मुद्दा दर्ता गरेको थियो । पूर्ण इजलाशबाट फैसला नआएसम्म सो मुद्दामाथि थप सुनुवाई तथा आदेश नदिन सर्वोच्च अदालतले बिशेष अदालतलाई भनेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै उनकी श्रीमती कल्पना उप्रेतीले बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट दायर गर्नुभएको थियो । सर्वोच्चको निर्णयपछि रिटको टुंगो नलागेसम्म शर्मा भने अख्तियारकै नियन्त्रणमा रहने भएका छन ।